रामेछापमा सिमेन्ट बोकेको लरी दुर्घटना, चालक घाइते

शुक्रबार, ६ भदौ, २०८२
डिजिटल संस्करण

सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी शुक्रबार बिहान मन्थली नगरपालिका– ६, पाखाबारीमा दुर्घटनामा परेको छ । उक्त मालवाहक लरी दुर्घटना हुँदा लरीचालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका– ७, शिखरबेँसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन् । उनको घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । 

दुर्घटनामा परेको लरी सुनकोशी–मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेलेघाटतर्फ जाँदा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको ट्रक पटेल रमण कन्स्ट्रक्सनको रहेको र दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गत वर्षको असोज १२ गतेको वर्षातसँगै आएको सुनकोशीको बाढीले खुर्कोटमा रहेको सुनकोशीको मोटरेबल पुल बगाएपछि पुनर्निर्माण गरिएको बेलिब्रिजमा १५ टन भन्दा बढी क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। सुनकोशी–मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा आवश्यक पर्ने निर्माण सामग्रीहरू बोक्ने ठुला भारवहन साधन सिन्धुली र रामेछापको संगमस्थल सुनकोशीको सित्खा पुल तारेर रामेछापको सदरमुकाम मन्थली हुँदै आयोजनाको निर्माणस्थलसम्म लैजाने गरिन्छ । 
 

सुझावित समाचार