दोस्रो एभरेस्ट महिला भलिबल लिग : कर्णाली र मधेशले भित्र्याए विदेशी खेलाडी

शुक्रबार, ६ भदौ, २०८२
डिजिटल संस्करण

साबिक विजेता कर्णालीले ब्राजिलकी आना फलाभिया र मधेशले नेदरल्यान्ड्सकी डानिक आर्डेमालाई अनुबन्ध गरेका छन्

साबिक विजेता कर्णाली यसभिस र मधेश युनाइटेडले दोस्रो एभरेस्ट महिला भलिबल लिगका लागि विदेशी खेलाडी भित्र्याए का छन् । कर्णालीले ब्राजिलयन सेटर आना फलाभिया र मधेशले नेदरल्यान्ड्सकी सेटर डानिक आर्डेमालाई अनुबन्ध गरेका हुन् । लिगमा सहभागी ६ फ्रेन्चाइजमध्ये काठमाडौंले मात्र तीनजना विदेशी खेलाडीको कोटा पूरा गरिसकेको छ । ललितपुर र मधेशले समान दुई खेलाडी अनुबन्ध गरेका छन् ।

पोखरामा २० देखि २८ भदौसम्म चल्ने दोस्रो संस्करणको लिगमा कर्णालीले प्रशिक्षकमा कुमार राई तथा मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ । ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विट्जरल्यान्डबाट खेलिसकेकी छिन् । उनी स्लोभाकिया र स्पेनमा उत्कृष्ट सेटर घोषित भएकी थिइन् । 

मधेशमा नेदरल्यान्ड्सकी आर्डेमा 
मधेशले दोस्रो विदेशी खेलाडीका रूपमा नेदरल्यान्ड्सकी आर्डेमालाई भित्र्याए को हो । आर्डेमाले नेदरल्यान्ड्स, स्पेन र जर्मनीका क्लबमा अनुभव समेटेकी छिन् । उनी अहिले नेदरल्यान्ड्सको शीर्ष डिभिजन क्लब सुडोसा–डेस्टोमा खेलिरहेकी छिन् । मधेशमा निरुता ठगुन्ना मार्की खेलाडी तथा कोपिला उप्रेती मुख्य प्रशिक्षक छन् । मधेशले यसअघि नेदरल्यान्ड्सकै आउटसाइड हिटर रोमी भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको थियो ।

अनुभवी सेटर आर्डेमाले नेदरल्यान्ड्सको शीर्ष क्लबमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन् । सन् २०२४ मा उनले नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् । आर्डेमालाई अनुबन्ध गरेपछि मधेशले टिम बलियो भएको र टोलीमा मुख्य सेटरका रूपमा रहने जनाएको छ । आर्डेमाको आगमनले टोलीको रणनीति र गति दुवै नियन्त्रण गरेर खेल जिताउन सक्नेमामा टोली विश्वस्त रहेको क्लबले जनाएको छ ।

‘मधेश युनाइटेडबाट नेपालमा लिग खेल्न पाउँदा निकै हर्षित छु,’ आर्डेमाले भनिन्, ‘मेरो प्रयास टोलीलाई उपाधि दिलाउने हुनेछ ।’ उनले नेपालमा खेलेर भलिबल खेल संस्कृतिलाई अझ विस्तार गर्ने पहल गर्ने बताइन् । 

लुम्बिनीले ट्रफी टुर र ट्यालेन्ट हन्ट गर्ने
लुम्बिनी लाभाजले ९ भदौमा भैरहवामा ‘ट्रफी टुर’ र ‘ट्यालेन्ट हन्ट’ सञ्चालन गर्ने भएको छ । ट्यालेन्ट हन्टमार्फत लुम्बिनी प्रदेशका उत्कृष्ट खेलाडीलाई टोलीमा सहभागी हुने अवसर प्रदान गरिनेछ । लुम्बिनीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित आठ खेलाडीलाई अनुबन्ध गरिसकेको छ । ‘मायादेवी मन्दिरपरिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ट्रफी परिक्रमा गराइनेछ,’ लुम्बिनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सुझावित समाचार