सिराहाको चोहर्वा–सिराहा सडकखण्डमा पर्ने विष्णुपुर गाउँपालिका– १ हुँदै चोहर्वातिर आउँदै गरेको यात्रुवाहक विंगर बसबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्र–२–०१–००१ ज ००४३ नम्बरको विंगर बस चढेर आउँदै गरेका यात्रुसँग खैरो हिरोइन लागुऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले विंगर रोकेर चेकजाँच गर्ने क्रममा तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका– १५ बस्ने करिब ३८ वर्षीय दिनेश सुनार, इन्द्र सुनार र करिब २९ वर्षीय विशाल गोले रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार चेकजाँचको क्रममा दिनेशले लगाएको पाइन्टको खल्तीमा भेटिएको दुईवटा स–साना प्लास्टिकका पोका तौल गर्दा प्लास्टिकसहित सात ग्राम ३१० मिलिग्राम भएको छ । खैरो हिरोइनजस्तो पदार्थसहित पक्राउ गरिएका तीनजनालाई सिराहा जिल्ला अदालतबाट बुधबारदेखि लागू हुने गरी चार दिनको म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए ।