कांग्रेस एमालेबिच भागबण्डा नमिल्दा पाँच महिनादेखि महाकाली अस्पताल समितिबिहिन

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

सत्ताधारी दलहरुबिच भागबण्डा नमिल्दा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल पाँच महिनादेखि व्यवस्थापन समितिबिहिन भएको छ । गत १० चैत ०८१ मा कृष्णानन्द भट्ट (किरण) नेतृत्वको समितिको म्याद सकिएपछि अस्पताल समितिबिहिन भएको थियो । 

सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय मातहत रहेको जिल्लाको एकमात्रै प्रादेशिक अस्पतालमा सत्ताधारी कांग्रेस, एमालेबिच भागबण्डा र लुछाचुडीले महिनौँदेखि अस्पतालले अभिभावक पाउन सकेको छैन । महाकाली मात्रै होइन, सेती प्रादेशिक, टिकापुर सहितका प्रदेश सरकार मातहत रहेका सुदूरपश्चिमका अस्पताल अहिले समितिविहिन भएका छन् । 

कांग्रेस नेतृत्वको सुप प्रदेश सरकारमा एमाले पनि सत्ता साझेदार भएकाले दुवै दलविच भागबण्डाका लागि बार्गेनिङले  ढिलाई भएको स्वयं सत्ताधारी नेताहरु बताउँछन । लामो समयदेखि अस्पतालमा व्यवस्थापन समिति नहुँदा नीतिगतदेखि नागरिकका गुनासासमेत अस्पताल प्रशासनले नसुन्ने गरेको दुखेसो छ। 

कञ्चनपुरका स्थानीय सन्तोषराज जोशीले अस्पतालमा समिति हुँदा सहजै समस्या पोख्न सकिने भएपछि प्रशासन र चिकित्सक एवं स्वास्थ्यकर्मी, अन्य कर्मचारीले समस्या गम्भीर नभए नसुन्ने  गरेको बताए । ‘उपचारका क्रममा आर्थिक अभावदेखिका अन्य समस्या आउँदा समिति हुँदा समितिकै पदाधिकारीहरुसँग सहजै हामी नागरिकले पहुँच राख्थ्यौँ, ‘उनले भने, ‘कर्मचारीसँग जति भन्दा पनि हाम्रो सुनुवाई नै गर्दैनन ।’

अर्की स्थानीय रविना भट्टले अस्पतालमा  नागरिक स्तरबाट समिति नहुँदा पैसा अभावमा भएका बेला उपचारमा समेत समस्या हुने  गरेको दुखेसो पोखिन् । ‘समिति हुँदा हामीसँग पैसा नहुँदा उहाँहरुले म्यानेज गरिदिन्थे, कुनै समस्या आइपर्दा पनि समितिबाटै समाधान हुन्थ्यो, ‘उनले भनिन्, ‘अहिले समस्या आउँदा वा पैशा अभाव हुँदा हाम्रा कुरा सुन्ने कोही छैनन ।’ 
 

सुझावित समाचार