सहकारी ठगी मुद्दामा टोखाका मेयरलाई सफाइ

सोमबार, २ भदौ, २०८२
डिजिटल संस्करण

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ प्रालिमार्फत ठगी गरेको मुद्दामा यस्तो फैसला गरेको हो । यसअघि उच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो । 

उच्चको फैसलाविरुद्ध सर्वाेच्चमा परेको पुनरावेदनमा सर्वोच्च प्रशासनले यो मुद्दालाई अभियान फाँटमा राखी सुनुवाइ गरिरहेको थियो । लगाउमा रहेका आठवटै मुद्दालाई एकसाथ राखी फैसला गरिएको हो । संयुक्त इजलासले गरेको फैसलाअनुसार नेपाल सरकारको पुनरावेदनमा केही उल्टी, दुईवटामा उल्टी र पाँचवटामा सदरको फैसला भएको छ । 

‘दुईवटा जुन उल्टीका फैसला भएका छन् तिनमा प्रतिवादीले सफाइ पाएका छन् । सदर भनेपछि तल्लो अदालतकै फैसला सदर भएको हो । सरकारको पुनरावेदनमा चाहिँ मृत्यु भएको मान्छेको हकमा कैद मिनाहा भए पनि बिगो भराउनुपर्छ भन्ने फैसला भएको हो,’ सर्वोच्चका सूचना अधिकारी तथा उपरजिस्ट्रार नीराजन पाण्डेले भने । अधिकारीको हकमा यसअघिको फैसला उल्टी भएसँगै उनले सफाइ पाएका हुन् । 

मुद्दाका प्रतिवादी तथा सहकारी सञ्चालकमध्येका एक सुवासचन्द्र बिसीको शव मुड्खुको जंगलमा भेटिएको थियो । जसपछि उनकी श्रीमती धनमाया श्रेष्ठलाई प्रहरीले प्रतिवादी बनाएको थियो । 

सहकारीमार्फत २०२ जना निक्षेपकर्ताको एक करोड ८३ लाख रुपैयाँभन्दा बढीको ठगी भएको भन्दै ०७१ मा प्रहरीमा जाहेरी परेको थियो । अधिकारीसमेत उक्त सहकारी सञ्चालक तथा उपाध्यक्ष भएकाले प्रहरीले प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । 

०७१ सालमा अदालत प्रवेश गरेको यो मुद्दामा जिल्ला अदालत काठमाडौंले ०७३ चैतमा फैसला सुनाएको थियो । सर्वोच्चमा भने ०७६ मा पुगेको थियो । पाँच वर्षभन्दा पुरानो मुद्दा भएकाले शीघ्र फर्स्याेटका लागि प्राथमिकतासाथ राखिएको थियो ।  

यस मुद्दामा उच्च अदालत पाटनबाट ठहर हुने गरी भएको फैसला बदरको माग गर्दै अधिकारी, झुनु शाह, सीतामाया थापा, यनुका बुढाथोकी, देउमाया लिम्बू, प्रतिमा सिटौला र धनमाया श्रेष्ठले पुनरावेदन गरेका थिए । अप्सरा पौडेलसमेतको जाहेरीले नेपाल सरकार पनि पुनरावेदनमा गएको थियो । जसमा केही उल्टीको फैसला भएको हो । अधिकारी र बुढाथोकीको हकमा मात्र उल्टीको फैसला भएको छ । पाटनले यस मुद्दामा १९ फागुन ०७५ मा फैसला गरेको थियो ।  

उक्त को–अपरेटिभबाट भएको ठगीमा जिल्ला अदालत काठमाडौंले सफाइ दिए पनि सरकार उच्च पुगेकोमा यो मुद्दा अब सर्वोच्चबाट टुंगिएको हो । उच्चले गरेको फैसलाअनुसार अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना तोकेको थियो भने कैदसमेत एक महिना हुने फैसला भएको थियो । 

प्रतिवादीहरू श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बूलाई पनि जनही एक महिना कैद तथा जरिवानाको सजाय सुनाइएको थियो । जाहेरवालाहरूले पटक–पटक रकम माग्दा पनि नदिएपछि पीडितहरू प्रहरीमा पुगेका थिए । 

आफूले सर्वाेच्च अदालतबाट सफाइ पाएको मेयर अधिकारीले बताए । ‘पुरानो मुद्दा थियो, सर्वाेच्चबाट सफाइको फैसला भएको छ,’ उनले भने, ‘जिल्लाले पनि सफाइ दिएको थियो, उच्चबाट केही सजाय भएकोमा त्यसविरुद्ध सर्वाेच्च गएको थिएँ ।’ मेयर अधिकारी एमालेका नेता हुन्। 

सुझावित समाचार