बागमतीमा लम्पी स्किनविरुद्ध एक लाख २० हजार पशुमा खोप

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि आगामी सोमबारदेखि आइतबारसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने यस अभियानअन्तर्गत एक लाख २० हजार गाईभैँसीलाई खोप दिने लक्ष्य राखिएको छ । मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानका अनुसार लम्पी स्किन रोगको कुनै ठोस उपचार नभएकाले रोकथामका लागि खोप नै प्रभावकारी उपाय हो ।

उनका अनुसार रोग लागेपछि गाईभैँसीमा उच्च ज्वरो आउने, शरीरमा गाँठा देखिने, खुट्टा सुन्निने, हिँड्न गाह्रो हुने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्नेलगायतका लक्षण देखापर्छन् । अघिल्लो आर्थिक वर्षमा प्रदेशभर ७१ हजार ९७७ वटा पशुलाई खोप दिइएको थियो । ०७७ साल असारमा नेपालमा पहिलोपटक प्रमाणित भएको यो रोग हालसम्म सबै ७७ जिल्लामा फैलिएको छ । सरकारले यसबाट ७५ अर्ब ४८ करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको अनुमान गरेको छ। यस वर्ष साउनदेखि भदौसम्म बागमतीका मकवानपुर, सिन्धुली, काभ्रे र चितवनमा मात्र ७४ पशुको मृत्यु र एक हजार ६३३ पशु प्रभावित भएका छन् ।

यस वर्षको अभियानअन्तर्गत ललितपुरमा १० हजार, काभ्रेमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२ हजार ९१२ हजार, दोलखामा ६ हजार, चितवनमा ३० हजार, धादिङमा ११ हजार, मकवानपुरमा २५ हजार पशुमा खोप दिइनेछ । बागमतीमा हाल ११९ स्थानीय तहअन्तर्गत ६ लाख ९४ हजार २१७ गाई र पाँच लाख ४९ हजार १८२ भैंँसी रहेका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले किसानलाई हुने सम्भावित क्षति न्यूनीकरण गर्न अग्रिम तयारीस्वरूप खोप अभियान ल्याइएको बताए । अभियानको औपचारिक शुभारम्भ भदौ १ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका–  १ बाट गरिने मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार