ताप्लेजुङ गोल्डकप : सहारा क्लब पोखरा पराजित, रेड स्टार सेमिफाइनलमा

आइतबार, २५ साउन, २०८२
डिजिटल संस्करण

ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सहारा क्लब पोखरा झापाको रेड स्टार फुटबल क्लबसँग २–० ले पराजित भएको छ ।

आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा रेड स्टारले सहारा क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

झापाका तर्फबाट सविन लिम्बूले खेलको ७७औँ मिनेट १ गोल गर्दै झापालाई अग्रता दिएका थिए । आक्रामक खेल खेले पनि सहारा क्लबले हार व्यहोर्नुपर्यो । खेलको दोस्रो हाफको इन्जुरी समयमा पनि पुनः उनै सविन लिम्बूले १ गोल गर्दै २–० बनाउँदै आखिरी रेडहर्स सेमिफाइनलमा प्रवेश गरेको छ । 

अब झापाको रेड स्टार क्लबले सिरहा र पाँचथरबिचको विजेतासँग सेमिफाइनल खेल खेल्ने आयोजक समितिका सचिव टिकेन्द्र नेपालीले बताए । प्रतियोगिताअन्तर्गत सोमबार भारत र काठमाडौँका टोलीबिच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । 

प्रतियोगितामा भारतसहित नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबहरूको सहभागिता रहेको छ । फाइनल खेल ३१ साउनमा हुनेछ । गोल्डकप विजेता टोलीले नगद सात लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव नेपालीले जानकारी दिए ।

यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कारस्वरूप पाउने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।
 

सुझावित समाचार