विद्युत् व्यापारबाट नेपालले कमायो साढे चार अर्ब

आर्थिक वर्ष ०८१/८२ मा नेपालले साढे १७ अर्बको विद्युत् निर्यात गर्दा १३ अर्ब आयात

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण

नेपालको समग्र वस्तु तथा सेवा व्यापार घाटामा छ । तर, विद्युतकाे व्यापारबाट भने नेपालले नाफा आर्जन गर्न थालेको छ । गएको आर्थिक वर्षमा मात्रै नेपालले विद्युत् व्यापारबाट साढे चार अर्ब रुपैयाँ नाफा आर्जन गरेको हो । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/८२ को अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकले विद्युतकाे आयातभन्दा निर्यात बढी भएको देखिएको हो ।  

गत आवमा प्राधिकरणले नेपालबाट १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँबराबरको बिजुली निर्यात गरेको छ । भारत र बंगलादेशमा गरेर प्राधिकरणले सोबराबरको बिजुली निर्यात गरेको हो । प्राधिरकणबाट प्राप्त तथ्यांकअनुसार भारतमा १७ अर्ब १९ करोड ३२ लाख रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँबराबरको विद्युत् निर्यात भएको छ । गत आवमा नेपालले १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँबराबरको विद्युत् आयात भएको छ । नेपालले विद्युतकाे आयात भारतबाट मात्रै गर्दै आएको छ । समग्रमा नेपालको विद्युत् व्यापार चार अर्ब ५३ करोड ६८ लाख रुपैयाँले नाफामा देखिएको हो ।

विद्युत् व्यापार दुई वर्षदेखि नाफामा 
वैदेशिक विद्युत् व्यापारमा नेपाल अघिल्लो आव ०८०/८१ देखि खुद निर्यातकर्ता बनेको छ । अघिल्लो आव ०८०/८१ मा नेपालले १३ करोड रुपैयाँको खुद विद्युत् निर्यात गरेको थियो । उक्त आवमा १६ अर्ब ९२ करोडको विद्युत् आयात हुँदा १७ अर्ब ६ करोड रुपैयाँको निर्यात थियो । त्यसअघिका आवहरूमा भने विद्युत् व्यापारमा नेपाल खुद आयातकर्ता थियो ।

नेपालले भारतको इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा १ मे ०२१ मा प्रवेश पाएको थियो । भारतको उक्त मार्केटमा प्रवेश पाउने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । हाल नेपालले भारतको मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्दै आएको छ । अहिले भारतमा नौ सय ४१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति छ ।  

यस्तै, गत आवदेखि प्राधिकरणले बंगलादेशमा पनि विद्युत् निर्यात गर्न सुरु गरेको छ । बर्खामा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने गर्छ । ३० कात्तिक ०८१ मा नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको थियो । 

सुझावित समाचार