- दक्षिण कोरियन स्ट्राइकर सन र लस एन्जलसबिच २६.५ मिलियन अमेरिकी डलरको सम्झौता भएको छ । एटलान्टा युनाइटेडले गत फेब्रुअरीमा मिडल्सब्रोका एम्यानुएल लाट्टे लाथलाई १६.५ मिलियन पाउन्ड खर्चेको थियो ।
दक्षिण कोरियन स्ट्राइकर सन हेउङ मिन कीर्तिमानी रकममा अमेरिकन क्लब लस एन्जलसमा आबद्ध भएका छन् । इंग्लिस प्रिमियर क्लब टोटह्यामसँगको एक दशकको यात्रा टुंग्याउँदै सनले बिहीबार लस एन्जलस जाने सबै प्रक्रिया पूरा गरेका छन् । यद्यपि, उनी मंगलबारै लस एन्जलस पुगेका थिए । मेडिकल परीक्षणपछि उनले नयाँ क्लबसँगको सम्झौता पूरा गरेको एजेन्सीले जनाएको छ । अमेरिकी एजेन्सीका अनुसार सन र लस एन्जलसबिच २६.५ मिलियन अमेरिकी डलरको सम्झौता भएको छ । जसअनुसार उनी अमेरिकन मेजर लिगकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
यसअघि एटलान्टा युनाइटेडले गत फेब्रुअरीमा मिडल्सब्रोका एम्यानुएल लाट्टे लाथलाई १६.५ मिलियन पाउन्ड तिरेको थियो । अमेरिकाका कुनै पनि क्लबले खेलाडी भित्र्याउन ठुलो धनराशि खर्चेको यो नै पहिलोपटक हो । सनले लस एन्जलससँग तीन वर्षको सम्झौता गरेका छन् । उनी अमेरिकन लिगमा सन् २०२९ सम्म रहनेछन् । यद्यपि, अन्य क्लबमा जानका लागि क्लबले बाटो खुला राखेको छ ।
बिएमओ रंगशालामा उपस्थित हुँदा सनलाई हजारौँ दर्शकले स्वागत गरेका थिए । सनले भिआइपी बक्समा बसेर टिग्रेससँगको खेल पनि हेरेका थिए । जसमा लस एन्जलस २–१ ले विजयी भएको थियो । दर्शकले सनलाई ठुलो स्क्रिनमा देखेपछि ताली बजाएका थिए । सनले भिआइपी बक्सबाट दर्शकको अभिवादन स्विकारेका थिए । ‘लस एन्जलस कस्तो सहर हो, बुझ्न समय लाग्छ,’ उनले भने, ‘यहाँको वातावरणबाट मग्न भएको छु ।’
लस एन्जलसका महाप्रबन्धक जोन थोरेङटनले एसियन तथा प्रिमियर लिगकै चर्चित खेलाडी भित्रिँदा मेजर सकर लिगको महत्व बढेको बताए । सनले पनि जोनकै कारण आफू अमेरिका आएको बताए । ‘जोनकै कारण आएँ । मेरो विचार परिवर्तन गर्न उनको ठुलो हात छ,’ सनले भने, ‘यो सहर नयाँ गन्तव्य हो ।’
लस एन्जलसमा साढे तीन लाख कोरियन
लस एन्जलसमा सन आउनुको कारण यहाँ कोरियन जनसंख्याको बाहुल्यता छ । यहाँ साढे तीन लाखजति दक्षिण कोरियन नागरिक बसोबास गर्छन् । ‘धेरै कोरियन भएका कारण प्रभावित बनायो । यति धेरै कोरियन भएको सहरमा आउन पाउनु गर्वको कुरा हो,’ उनले भने, ‘उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूलाई गौराञ्वित बनाउनेछु ।’ टोटनह्यामका पूर्वसहकर्मी तथा अहिले लस एन्जलसका गोलरक्षक हुगो लोरिसले पनि सहकर्मीलाई क्लबबारे जानकारी दिएका थिए । ‘यो क्लब र सहरबारे बुझाउन र मनाउन हुगोले धेरै सहयोग गरेका थिए,’ सनले भने, ‘लस एन्जलस साँच्चै विशेष छ भनेर सल्लाह दिए ।’
टोटनह्याममा १७३ गोल
सनले टोटनह्याममा १० सिजन बिताउँदा १७३ गोल गरेका छन् । उनले सन् २०२१/२२ को इंग्लिस प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए । प्रिमियर लिगमा पहिलोपटक गोल्डेन बुट जित्ने उनी पहिलो एसियन खेलाडी हुन् । टोटनह्यामसँग आबद्ध हुनुअघि उनले जर्मन क्लब बायर्न लेभरकुसेनबाट बुन्डेसलिगा खेलेका थिए । सनले शनिबार सिकागोमा हुने खेलमा डेब्यु गर्ने सम्भावना छ । गत शनिबार पत्रकार सम्मेलन गरी उनले टोटनह्यामसँगको एक दशकको यात्रा समाप्त भएको बताएका थिए ।