दुई वर्षपछि इजरायली अधिकारी भन्छन्– विपिन जोशीसहित २० जना जीवित रहेको अनुमान छ, यकिन छैन

मंगलबार, २१ साउन, २०८२
डिजिटल संस्करण
दुई वर्षपछि इजरायली अधिकारी भन्छन्– विपिन जोशीसहित २० जना जीवित रहेको अनुमान छ, यकिन छैन

तेलअभिभस्थित विमानस्थलको अध्यागमन भवनमा विपिनको तस्बिर

झन्डै दुई वर्षअघि इजरायलमा हमास समूहको आक्रमण हुँदा बेपत्ता बनेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशीको पछिल्लो अवस्थाबारे इजरायली अधिकारीले अनभिज्ञता प्रकट गरेका छन् । हमासको कब्जामा रहेका जोशीसहित २० जना जीवित रहेको अनुमान रहे पनि यकिन नभएको उनीहरूको भनाइ छ । यसअघि इजरायली अधिकारीहरूले विपिन जीवितै रहेको बताउँदै आएका थिए । 

इजरायलको विदेश मन्त्रालयका दक्षिण र पूर्वी एसिया ब्युरो प्रमुख सगी करनीले सोमबार जेरुसेलमस्थित मन्त्रालयमा नयाँ पत्रिकाको प्रश्नमा भने, ‘विपिन जोशीसहित २० जना व्यक्तिहरू हमासको कब्जामा जीवित छन् भन्ने हाम्रो अनुमान छ । तर, उनीहरूको पछिल्लो अवस्थाबारे यकिन जानकारी छैन ।’ 

जोशीलाई किबुज क्षेत्रबाट २० असोज ०८० मा प्यालेस्टाइनको हमास समूहले अपहरण गरेको थियो । इजरायली अधिकारीले विपिनसहित हमासको कब्जामा रहेकाको रिहाइका लागि हरसम्भव प्रयास गरिरहेको बताए । ‘हाम्रा लागि जोशी इजरायलका नागरिकजत्तिकै प्रिय छन्,’ इजरायली अधिकारी सगीले भने । उनले जोशीको रिहाइका लागि थप दबाब सिर्जना गर्नुपर्नेमा पनि जोड दिए । 

इजरायलको राजधानी तेलअभिभस्थित विमानस्थलको अध्यागमन भवनमा जोशीसहित हमासको कब्जामा रहेकाहरूको तस्बिर राखिएको छ । यसअघि जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको भनिए पनि उनको अवस्थाबारे इजरायलमा स्पष्ट सूचना छैन । 

जोशी गाजा क्षेत्रमा रहेको नेपाल सरकारको पनि अनुमान छ । विपिनसँगै रहेका नेपाली विद्यार्थीले उपलब्ध गराएको सूचनाका आधारमा नेपाल सरकारले विपिन हमास नियन्त्रित गाजा क्षेत्रमा रहेको अनुमान गरेको छ ।

प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहसँग सम्बन्ध रहेका अरब मुलुकका समकक्षीसँग संवाद गर्दै आएका छन् । हमासले आफ्नोे नियन्त्रणमा रहेका विदेशी र इजरायली नागरिकलाई यसअघि चरणबद्ध रूपमा रिहा गरे पनि विपिन मुक्त भएका छैनन् । मध्यपूर्वका इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका मुलुकसँग खोजीका लागि प्रयास गर्दै आएको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गर्दै आएको छ । 

हमास समूहकोे ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बताउँदै आएका थिए । 

जेरुसेलममा नेपाली पत्रकारसँगको कुराकानीमा इजरायली अधिकारीहरूले हमास समूहले दुईवटा ग्रिनेड फालेकामा एउटा जोशीले समातेर बाहिर फालेको र उनलाई हमास समूहले लिएर गएको बताए । जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीको भनाइ थियो ।

सुझावित समाचार