पोखरा फुटबल रंगशालाको फ्लोरसिट प्रयोग गर्न नमिल्ने अवस्थामा

पाँच करोड खर्चेर स्टिलको नयाँ फ्लोरप्लेट जडान गरिँदै

मंगलबार, १३ साउन, २०८२
डिजिटल संस्करण

तीन वर्षअघि पोखरा रंगशालास्थित फुटबल मैदानमा दर्शकले व्यवस्थित रूपमा खेल हेर्न फ्लोरप्लेट राखिएको थियो । तर, अहिले यो प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । ०७९, २८ असोजमा एमएम कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी) र भारतीय कम्पनी ग्रेट स्पोर्टस्ले फ्लोरप्लेट सिट जडान गरेका थिए । दुई कम्पनीले जडान गरेको फ्लोरप्लेट सिटमा दर्शक बस्न नमिल्ने भएपछि त्यसलाई परिवर्तन गर्न सुरु गरिएको छ । पुरानो सिट फ्रान्सका कम्पनीको थियो । अहिले राखिएका स्टिलको सिट चितवनस्थित जलप नेपालमा तयार गरिएको हो ।

कम्पनीले एक लाख चार सय तीन वर्गफिट सिटमा नयाँ सिट राख्ने काम धमाधम गरिरहेको छ । यो फुटबल रंगशाला २६ फागुन ०७५ मा शिलान्यास भएको थियो । निर्माण कम्पनीले ०७९ मा राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरेको थियो । १८ हजार पाँच सय सिट क्षमताको प्यारापिटसहितको रंगशाला एक अर्ब २४ करोड ३५ लाख ४४ हजार ४८० रुपैयाँमा निर्माण सम्पन्न भएको हो । निर्माण कम्पनी एमए कन्ट्रक्सनका प्रतिनिधि दीपक बरालले वारेन्टीको म्याद सकिए पनि फ्लोरसिट विदेशी कम्पनी जोडिएकाले आफ्नो साख बचाउन सिट परिवर्तन गरिरहेको बताए ।

‘यी सबै विदेशमै जडान भएर पोखरामा ल्याइएको थियो । यसको वारेन्टी सकिएको छ, तर हामी आफ्नो इज्जत जोगाउन फेरि नयाँ राख्दै छौँ,’ बरालले भने । पूरै सिट परिवर्तन गर्न पाँच करोड खर्च हुने र खर्च निर्माण कम्पनीले व्यहोर्ने उनले बताए ।

सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत यसै पोखरा रंगशालामा विभिन्न खेल भएका थिए । तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पोखरा रंगशाला १८ हजार पाँच सय सिट क्षमताको प्यारापिटसहितको बनाउन निर्देशन दिएका थिए । 

विश्व फुटबल महासंघ फिफाको मापदण्डअनुरूप फुटबल मैदान एक सय पाँच मिटर लम्बाइ र ६८ मिटरको चौडाइको छ । साथै, एथलेटिक्सको चार सय मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक पनि छ ।

जडानको एक वर्षपछि कुहिने समस्या
ठेक्का पाएको कम्पनीले रंगशालामा जडान भएको फ्लोरसिट ५० वर्षका लागि भनी निर्माण गरेको थियो । सुरुमा फ्लोरसिट राम्रो र आकर्षक देखिएको थियो । तर, जडान भएको अर्को वर्षदेखि नै कुहिने समस्या आएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले बताए । ‘हामीले प्रयोग गर्न नमिल्ने अवस्था देखेपछि फेर्न सुरु गरिएका हौँ,’ गुरुङले भने, ‘फ्लोरप्लेट सिट सुरुमा रामै्र थियो, तर पछि मक्किन र कुहिन थाल्यो ।’ 

पोखराको मौसमअनुसार यस किसिमको फ्लोरसिट उपयुक्त नहुने उनको भनाइ छ । ‘निर्माण कम्पनीले जुन सिट प्रयोग गर्‍यो । पोखराजस्तो घामपानी पर्ने स्थानमा उपयुक्त देखिएन,’ गुरुङले भने, ‘यसैकारण कुहिएको जस्तो लाग्छ ।’ जडान भएको सिटले घामपानी सहन नसक्ने प्रकृति नभएको बताए ।

‘यसैकारण कारण लेउ लाग्ने, मक्किने, कुहिएर फुट्ने समस्या आएको हो । धेरै प्रयासका बाबजुद स्टिलको सिट राख्ने काम निर्माण कम्पनीले नै सुरु गरेको हो,’ सिट काम नलाग्नु कारणबारे गुरुङले भने, ‘निर्माण कम्पनीसँगको सम्झौताअनुसार १२ वर्षसम्म उनीहरूले मर्मत गर्नेछन् । सोहीअनुसार कम्पनीले सिट फेर्ने कार्य भइरहेको छ ।’ 

फ्रान्सबाट झिकाइएको फ्लोरसिट
फुटबल रंगशालामा राखिएका सिट फ्रान्सबाट ल्याइएको हो जुन युरोपेली राष्ट्रमा यो निकै बलियो र आकर्षक मानिन्छ । ‘हामीले गुणस्तरीय हेरी फ्रान्सबाट फ्लोरसिट झिकायौँ । युरोपमा यस्ता सिट निकै प्रयोग हुने गर्छ,’ एमए कन्ट्रक्सनका बरालले भने, ‘पोखराजस्तो धेरै पानी पर्ने र गर्मी हुने स्थानका लागि यो उपयुक्त नहुने रहेछ । जसका कारण केही वर्षमै प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्यो ।’ सिटमा धेरै समस्या देखिएपछि सिट राखेको फ्रान्सको कम्पनीका इन्जिनियर आएर स्थलगत अवलोकन गरेका थिए । उनीहरूले नै निर्माणको क्रममा पोखरा आएर कामसमेत गरेका थिए । 

सुझावित समाचार