चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन्। सकेसम्म आजैबाट विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राविधिक टोली खटिरहेका वेला शाक्य पनि चितवन पुगेका प्राधिकरणले जनाएको छ।
‘चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी छ,’ आज सोमबार बिहान चितवन पुगेका शाक्यले भने, ‘प्राविधिक समस्यालाई जतिसक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु।’
उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरूलाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिए। उनले भने, ‘आज बेलुकासम्ममा चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ। भोलिबाट नियमित विद्युत् आपूर्तिको अवस्थामा पुग्छौँ।’
वर्षाको समेत पर्वाह नगरी प्राधिकरणका प्राविधिक टोली काममा रातभरि पनि खटिरहेको भन्दै शाक्यले जतिसक्दो छिटो समाधान हुनेमा आशावादी रहेको बताए। उनले मधेश प्रदेशको जनकपुरलगायतसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानका लागि के भइरहेको छ र त्यसले विद्युत् आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरू देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गर्ने र बुझ्ने तयारीमा रहेको जानकारी दिए।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि पूर्वीचितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडानको काम सकेर नयाँ ट्रान्सफर्मर चार्ज भइरहेको जानकारी दिए। उनले त्यो ट्रान्सफर्मर चार्ज भइसकेपछि सोमबार नै लोड सार्ने काम सम्पन्न हुने र सकेसम्म आजैबाट विद्युत् आपूर्ति नियमित हुनेमा आशावादी रहेको बताए।
चनौली वितरण केन्द्रको क्षमता ३०० एम्पिएरसम्मको भए पनि विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको प्राधिकरणले जनाएको छ। चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापनका लागि बसेनी १३२ केभी सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ केभी लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको बताइएको छ।