पढाइ, पुस्तक भनेको आँखीझ्याल रहेछ, जहाँबाट स–साना स्केलमा यो संसार, मानव समाजलाई अध्ययन गर्न, देख्न र बुझ्न सक्ने रहेछौँ । किनभने, मान्छेले आफूले भोगेको र देखेको कुरा मात्र पर्याप्त हुँदैन । आ–आफ्ना ढंगबाट समाज अध्ययन र विश्लेषण गरिरहेको हुन्छ । त्यो सबैको अध्ययन, विश्लेषणबाट हामीले छोटोमा सजिलो तरिकाले समाज बुझ्न, मान्छे बुझ्नका लागि पढ्नु अनिवार्य रहेछ । कुन पुस्तक मन पर्यो भन्ने कुरा, कुन समयमा के काम गर्छु भन्नेले फरक पार्छ । जस्तै– अहिले म मुन्धुम, मुन्धुमको विकासक्रम, मुन्धुमको इतिहास, किराँतीको इतिहास, संस्कृति, सम्पदा अध्ययन गरिरहेको छु । त्यसैले त्यस्तै पुस्तक रुचिकर लाग्दै छ । मुन्धुमको इतिहास, किराँतीको इतिहास र संस्कृतिबारे जानकारी हासिल गर्न, नेपाली समाजको विकासक्रम थाहा पाउन मुन्धुम एउटा राम्रो बौद्धिक स्रोत हुन सक्छ । त्यही मुन्धुमलाई बुझ्नका लागि केही पुस्तक उपयोगी लाग्दै छ ।
द ब्रिक एन्ड द बुल : एन अकाउन्ट अफ हाँडीगाउँ, द एन्सेन्ट क्यापिटल अफ नेपाल – सुदर्शनराज तिवारीको यो पुस्तक अहिले नेपालीमा अनुवाद भएर ‘हाँडीगाउँ : प्राचीन नेपालको राजधानी’ भनेर प्रकाशित छ । यो पुस्तकको एकदमै गज्जब लागेको पाटो भनेको इतिहासको व्याख्या अथवा प्राक्–इतिहासको व्याख्या गर्दा लिखित दस्ताबेजमा मात्र भर परेर हुँदैन भन्ने हो । किनभने, लिखित दस्ताबेजको व्याख्या, त्यसले भन्ने कुरा एकदमै सीमित हुन्छ । उनले पुस्तकमा इतिहासको अक्षरमा आधारित, शिलालेख वा अभिलेखमा आधारित इतिहासको अपूर्णतालाई पूर्णता दिने र अक्षरमा लेखिएको इतिहासमा भएको अस्पष्टतालाई स्पष्ट पार्ने काम मौखिक ज्ञान प्रणाली, त्यो समाजमा भएको सांस्कृतिक अभ्यास गर्छ भन्ने कोणबाट व्याख्या गरेका छन् । हाडीगाउँको इतिहास लेख्दा उनले त्यो समाजमा प्रचलित, हाँडीगाउँका नेवारहरूको संस्कृतिलाई पनि आधार बनाएका छन् । हाँडीगाउँ किराँतीहरूको राजधानी हुन सक्छ भन्ने कोणबाट व्याख्या गर्ने क्रममा पूर्वी नेपालको किराँतीहरूको मुन्धुम उनीहरूको संस्कृतिलाई पनि तथ्यको रूपमा अगाडि राखेका छन् । त्यसकारण उनले पुस्तकमा इतिहासको व्याख्या अथवा लेखन गर्दा अक्षरमा मात्र भर पर्नुहुँदैन, त्यसमा सांस्कृतिक अभ्यास र मौखिक ज्ञान प्रणालीलाई पनि ध्यान दिनुपर्छ भन्ने बताएका छन् । त्यसैले मलाई उनको यो किताब खुबै मन पर्यो ।
नवीन दृष्टिमा प्राचीन नेपालको इतिहास – प्रारम्भमा हामीले अभिलेख, ऐतिहासिक कागजपत्रमा मात्र आधारित भएर इतिहास लेख्यौँ । त्यस्तो इतिहास लेखनले घुमाइफिराइ सत्ताधारी शक्तिवरिपरि मात्र केन्द्रित गरिदियो । किनभने, लिखित इतिहास, लिखित दस्ताबेज जो शासन सत्तामा थिए, उसको मात्र थियो । त्यसकारण लिखित कागजपत्र, अभिलेखका आधारमा लेखिएको इतिहासले हामीलाई सत्ताको वरपर मात्र घुमायो । त्यो परम्परालाई तोड्ने काम नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठबाट सुरु भएको थियो । पुष्पलालले इतिहासको व्याख्या गर्दा दस्ताबेजले वा कागजपत्रले जे भनेको छ, त्यसमा मात्र सीमित भएर होइन कि समाजको विकास, जनताको अवस्थाको आधारमा पनि लेख्नुपर्छ भनेर नेपालमा मातृसत्ताबारे, राजतन्त्रबारे, भविष्यबारे लामा–लामा लेख लेखेका थिए । त्यो परम्परालाई प्राध्यापक केदारनाथ प्रधानले अगाडि बढाए । उनले एउटा पुस्तक प्रकाशन गरे, नवीन दृष्टिमा प्राचीन नेपालको इतिहास । पुस्तकमा शासकको वरिपरि रहेको इतिहासलाई जनताको वरपर रहेर लेखन गर्नुपर्छ भन्ने दृष्टिकोणबाट प्रारम्भिक खुड्किलो निर्माण गरे । यसमा प्रयोग भएका दस्ताबेज ती नै हुन्, जो हाम्रा इतिहासकारले प्रयोग गर्दै आएका थिए । तिनै दस्ताबेजलाई उनले जनताको पक्षबाट व्याख्या गरे । त्यसैले यो पुस्तक मन पर्यो ।
फ्रम लिटरेचर टु कल्चर – विभिन्न समयमा पत्रपत्रिका, जर्नल, स्मारिकामा प्रकाशित कमलप्रकाश मल्लका लेखहरू संकलन गरेर हिमाल किताबले एउटा पुस्तक प्रकाशन गरेको छ । पुस्तकमा ल्यांग्योइज एन्ड एजुकेसन, इंग्लिस स्टडिज, लिटरेचर, ग्रामर एन्ड ट्रान्सलेसन, कल्चर एन्ड सोसाइटी, प्रिहिस्ट्री इन प्लेसमेन्टलगायत उपशीर्षक छन् । आर्किओलोजी एन्ड हिस्टोरीग्राफी भन्ने उपशीर्षकमा लेखहरू विभाजन गरिएको छ । त्यसमा प्रिहिस्ट्री इन प्लेसमेन्ट मलाई मन परेको च्याप्टर हो । यसमा नेपालको इतिहासको अध्ययन गर्ने हो भने यहाँको स्थानका नामहरूको अध्ययन गर्नुपर्छ भन्ने उल्लेख छ । किनभने, ठाउँको नाममा स्वयं इतिहास छ । इतिहास वा प्राक्–इतिहासको व्याख्या गर्ने नयाँ माध्यमका रूपमा स्थानको नाम, नदीनालाको नामलाई लिन सकिन्छ । स्थान नामको हिसाबले काठमाडौंको खोलानदीको नामको तरिका र पूर्वको किराँतीहरूको खोलानदीको नामको तरिका समान छ । यो समानताले पूर्वी नेपालका हालका किराँतीहरूको र काठमाडौं उपत्यकाबिचमा कुनै न कुनै इतिहासकालभन्दा अघि सम्बन्ध थियो भन्ने तथ्य स्थान नामले बताउँदो रहेछ । इतिहास वा अक्षरभन्दा अगाडिको समयलाई व्याख्या गर्ने हो भने स्थानको नाम गहकिलो स्रोत हो भन्ने पुस्तकले व्याख्या गरेको छ ।
लोकायत : प्राचीन भारतीय भौतिकवादको अध्ययन – देवीप्रसाद चट्टोपाध्यायले यो पुस्तक लेखेका हुन् । यो पुस्तकको विशेषता संस्कृत ग्रन्थहरूमा जति पनि दर्शनको विकासको व्याख्या छ, त्यो दर्शनलाई उनले फरक कोणबाट व्याख्या गरेका छन् । त्यहाँ भएको धार्मिक दर्शनलाई जुन अध्यात्मीकरण गरिएको छ, त्यो अध्यात्मकृत भएको दर्शनभित्र धेरै ठुलो इतिहास, संस्कृति, भौतिकवादी दर्शन छ भनेर उनले प्रमाणित गर्न खोजेका छन् । जस्तै– गणपतिको व्याख्या उनले भौतिकवादी दृष्टिकोणबाट गरेका छन् । गणेशलाई हिन्दुले गणपतिको रूपमा पूजा गर्छन् । जुन गणपतिलाई भगवान् बनाइयो, प्रारम्भमा आदिवासीहरू गणका नेता थिए, गणको नेता भएकाले गणपति भनिएको हो । यसले भारतको आदिम अथवा प्राचीन इतिहासकालको सांस्कृतिक अभ्यास देखाउँछ । अध्यात्मीकृत भएको धार्मिक अभ्यासलाई इतिहासको कुनै वेलाको सत्य हो भनेर व्याख्या गरेका छन् । यसप्रकारको भौतिकवादी व्याख्या गरेर उनले भारतीय इतिहास, संस्कृति, दर्शनलाई तथ्यपूर्ण र ऐतिहासिकताको नजिक ल्याएका छन् । नेपाली समाजको इतिहास, संस्कृति र दर्शनलाई भौतिकवादी कोणबाट ऐतिहासिक तथ्य हो भनेर प्रमाणित गर्ने गरी काम गर्न यो पुस्तक उपयोगी छ ।
द ग्लोबल प्रि हिस्ट्री अफ ह्युमन माइग्रेसन – यो पुस्तक पिटर बेलहुडले सम्पादन गरेका हुन् । पुस्तकमा सातवटै महादेशका मानिस को, कहिले, कहाँ पुगे ? भनेर ५३ वटा लेख संकलित छ । पुस्तकमा ६० भन्दा धेरै विद्वान्ले आ–आफ्ना मुलुकको सन्दर्भमा लेखहरू संकलन गरेका छन् । नेपाली समाज कसरी बन्यो ? अथवा विश्वकै विभिन्न मुलुक जुन सामाजिक, जातीय बनोट कहिले बनेको रहेछ ? किन बनेको रहेछ ? कसरी बनेको रहेछ ? भन्ने थाहा पाउन पुस्तकले मद्दत गर्छ । विश्व समाज र नेपाली समाज बुझ्न धेरै हदसम्म यसले सहयोग गर्छ ।