हुलाकी राजमार्गको व्यथा : सडक बल्लतल्ल बन्यो, पुल अधुरै

शुक्रबार, ९ साउन, २०८२
डिजिटल संस्करण
  • २५ मिटर लम्बाइको पुल चार वर्षदेखि अलपत्र हुँदा बालबालिका तीन किलोमिटर घुमाउरो बाटो प्रयोग गरेर विद्यालय जान बाध्य

वर्षौँ लगाएर तयार भएको हुलाकी राजमार्गअन्तर्गत कैलालीको धनगढी क्षेत्रमा दुईवटा पुल निर्माण भने चार वर्षदेखि अलपत्र छन् । धनगढी उपमहानगरपालिका– १, शान्तिनगर र ८ नम्बर वडाको धनगढी गाउँबिचको राधेश्वारी स्वामी खोला तथा शान्तिनगर र २ नम्बर वडाको सन्तोषी टोल जोड्ने खोलामा पुल निर्माण थालेको चार वर्ष बितिसक्दा पनि जग हाल्ने काम मात्रै भएको छ । पुल अलपत्र हुँदा सो राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन र विद्यालय जाने बालबालिका करिब तीन किलोमिटर घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् ।

‘खोलापारिको धनगढी गाउँमा रहेको विद्यालय पुग्न बालबालिकाले दुई–तीन किलोमिटर घुमेर जानुपर्छ,’ शान्तिनगरका स्थानीय धीरज श्रेष्ठले भने, ‘हामीलाई बर्खामा वारिपारि गर्न समस्या भएकै चार वर्ष भयो ।’ हिउँदमा खोलामा थोरै पानी हुने भएकाले साइकल र मोटरसाइकल चलाउन सके पनि किनारदेखि सडकसम्म जोड्ने पुल तयार नभएकाले बर्खामा सास्ती खेप्नुपरेको उनले गुनासो गरे । शान्तिपुरकै अर्का स्थानीय शंकर चौधरीले तीन–चार वर्षअघि सुरु भएको पुल निर्माण अहिले पनि अलपत्र अवस्थामा रहेको बताए ।

१९ फागुन ०७८ मा दुईवटै पुल निर्माणका लागि मालिका निर्माण सेवासँग सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार १९ असार ०८० मा दुवै पुल तयार हुनुपर्ने थियो । तर, तीनपटक म्याद थप भए पनि अहिलेसम्म दुवै पुलको भौतिक प्रगति करिब ६५ प्रतिशत मात्र रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीले जनाएको छ । आयोजनाका अनुसार राधेश्वारी स्वामी खोलाको पुल निर्माणका लागि तेस्रोपटक थपिएको म्याद आगामी कात्तिक मसान्त र सन्तोषी टोल जोड्ने खोलाको पुल निर्माणको अवधि आगामी पुस दोस्रो साता सकिँदै छ । 

सुझावित समाचार