ओलीले सदस्यता नवीकरण रोकेपछि काउन्टरको तयारीमा विद्या

आज पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्दै

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले काउन्टरको तयारी गरेकी छिन् । उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् । 

भण्डारीले अपराह्न ३ बजे पत्रकार सम्मेलन राखेकी छिन् । सोही सम्मेलनबाट आफ्नो आगामी कदमबारे थप प्रस्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । भण्डारीनिकट एक नेताले शुक्रबारको पत्रकार सम्मेलनमा धेरै विषय स्पष्ट हुने बताए । भण्डारीले पछि नहट्ने अडान कायम राखेको उनको भनाइ छ । 

गत मंगलबार मध्यराति एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो । तर, त्यसै दिन दिउँसो सीमित पत्रकारहरूसँगको भेटमा भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने जनाउ दिएकी थिइन् । एमाले केन्द्रीय कमिटीले गरेको निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा नेता कर्ण थापाले असहमति राखेका थिए ।
 

सुझावित समाचार