जटिल रोगको शल्यक्रिया जिल्ला अस्पतालमै, ताप्लेजुङवासीलाई राहत

बिहिबार, ८ साउन, २०८२
डिजिटल संस्करण

ताप्लेजुङबाट केही जटिल रोगको शल्यक्रिया अन्यत्र सुविधा सम्पन्न जिल्लामा जानु नपर्ने भएको छ । केही जटिल खालका रोगहरूको शल्यक्रियाहरू जिल्ला अस्पताल ताप्लेजुङमा सुरू भएपछि अन्य जिल्लामा जानु पर्ने झन्झट अन्त्य भएको छ । 

अस्पतालमा विशेषज्ञ डाक्टरहरू आएपछि साथै शल्यकृयाकोलागि आवश्यक उपकरणको व्यवस्था भएसगैं शल्यक्रिया सेवा सुरू गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रनाम जयारूले जानकारीदिए । 

डा. जयारू ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता प्राप्त र गत माघमा ताप्लेजुङ आएसँगै सोही महिनादेखि अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रिया सेवा सुरु भएको हो । 

डा.जयारू आएयता हालसम्म १३६ जनाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका प्रमुख समेत रहेका मे.सु.डा.जयारूले जानकारी दिए । आठ जनाको एपेन्डिक्स शल्यक्रिया गरिएको उनले जानकारी दिए । गत मंगललबार मात्रै ६ वर्षका एक बच्चाको हर्नियाको सफल शल्यक्रिया गरिएको डा. जयारूले बताए । अस्पतालमा शल्यक्रिया सेवाका लागि डा. जयारूको नेतृत्वमा एमडिजिपी डा. ताई अन्जुक लामासहितको टोली छ । 

अस्पतालमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिलसहित पाइल्स, फिस्टुला, बच्चाको हर्निया, बच्चाको लिङ्गसम्बन्धी सर्कम सिजन र हातको सबैखाले शल्यक्रिया हुन थालेको छ । सेवा सुरू भएको करिब पाँच महिनामा सबैभन्दा धेरै हात र बच्चाको हर्निया तथा हाइड्रोसिलसम्बन्धी शल्यक्रिया सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । शल्यक्रिया जिल्लाबाटै हुन थालेपछि ताप्लेजुङवासीलाई राहत पुगेको छ । 

मेसु डा. जयारूले आफू ताप्लेजुङ आएपछि केही अत्यावश्यक उपकरणको व्यवस्था मिलाएर शल्यक्रिया सेवा सुरू गरिएको जानकारी दिए ।  चालु नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारबाट बजेटको व्यवस्था भएकाले उपकरणसहित आवश्यक व्यवस्थपन मिलाएर शल्यक्रिया सेवालाई थप सुधार र व्यवस्थित गर्ने योजना रहेको उनले बताए । 
 
 

सुझावित समाचार