लुम्बिनी प्रदेश सरकारको एक वर्ष : प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति गरेको मुख्यमन्त्रीको दाबी

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य नेतृत्वको सरकारले एक वर्षे पूरा गरेको उपलक्ष्यमा उपलब्धिहरूको विवरण सार्वजनिक गरेको छ । राप्ती उपत्यका देउखुरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरूको विवरण सार्वजनिक गरेका हुन् । 

उनले उपलब्धिका रुपमा सुशासनलाई केन्द्रमा राख्दै पाँच वर्षे रणनीतिक योजना तयार पारेको बताए । राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको जिकिर समेत गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको जिकिर पनि गरे । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ र जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको उनको भनाइ छ ।  

सरकार गठन भएको एक वर्षमा सरकारले हासिल गरेको उपलब्धिलाई उनले ७६ बुँदेमा सार्वजनिक गरेका छन् । संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका खेलेको, सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमहरूले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेको सरकारको दावी छ । सरकारले सार्वजनिक गरेको प्रगतिमा आन्तरिक आम्दानी पनि बढाएको उल्लेख गरेको छ । प्रदेश सरकारले आन्तरिक आम्दानी लक्ष्यको जम्मा ५१ दशमलव ६३ प्रतिशत हासिल गरेको छ । सरकारले यसलाई लक्ष्यको तुलनामा प्राप्त प्रगति उत्साहप्रद हुँदै गएको जनाएको छ । 

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेलले एक वर्षे उपलब्धिको विवरण प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्री ड्यासबोर्ड, किसान एप र अभौतिक साँस्कृतिक सम्पदाको विमोचन
प्रदेश सरकारले मुख्यमन्त्री ड्यासबोर्ड स्थापना गरेको छ । मन्त्रालय र सरकारकार विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरुको अनुगमन गर्न मुख्यमन्त्री ड्यासबोर्डको मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।

यस्तै, मुख्यमन्त्री आचार्य र उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले संयुक्तरुपमा अभौतिक सांस्कृतिक सम्पदाहरूको पुस्तक विमोचन गरे । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त पुस्तक प्रकाशन गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको उद्घाटन गरे । मुख्यमन्त्री ड्यास वोर्ड र किसान एप प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।

प्रगति सन्तोषजनक छैन : इन्द्रजीत थारु प्रमुख सचेतक माओवादी
प्रदेश सरकारले एक वर्षे उपलब्धिलाई ७६ बुँदामा चर्चा गरे पनि प्रतिपक्ष दलले सरकारको काम सन्तोषजनक नरहेको प्रतिक्रिया दिए । प्रमुख प्रतिपक्षी दल माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारुले देखावटी रुपमा उपलब्धि भनेर चर्चा गरे पनि यथार्थमा त्यस्तो नरहेको बताए । 

चालु खर्च घटाएको चर्चा गरे पनि देखावटी रुपमा घटेको र आन्तरिक रुपमा त्यस्तो नरहेको दावी गरे । अझै पनि चालु खर्च घटाउन सकिने भए पनि त्यसतर्फ ध्यान नगएको उनको भनाइ छ । 

सुशासनको क्षेत्रमा पनि प्रगति नदेखिएको उनले बताए । अर्कोतर्फ बजेट कार्यान्वयनमा पनि सन्तोष मान्ने स्थीति नरहेको तर्क उनको छ । प्रदेशका महत्वपूर्ण आयोजनाहरू कार्यान्वयमा विशेष जोड नपुगेको देखि कानुन निर्माणमा पनि प्रगति नदेखिएको उनले बताए ।
 

सुझावित समाचार