मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

सोमबार, ५ साउन, २०८२
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ। मनाङ भ्रमणमा आउने विदेशी पर्यटक वार्षिक रूपमा बढ्दै गएका हुन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष ०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ महिला र अन्य ६ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ।

उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोस्टको तथ्यांकअनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका दुई हजार ५५४ र अन्य राष्ट्रका ३५ हजार १७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

आर्थिक वर्ष ०८१/८२ मा १३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उनकाे भनाइ छ। यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार ३५८ नागरिकले मनाङ भ्रमण गरेका हुन्। फ्रान्सका तीन हजार ६१६ र जर्मनीका दुई हजार ८४२ नागरिकले भ्रमण गरेका छन्।

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उनले बताए। आर्थिक वर्ष ०८०/८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए। यस वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्यांकमा उल्लेख छ।

यस वर्षमा इजरायली नागरिकको संख्या अधिक रहेको उनको भनाइ छ। भुजेल भन्छन्, ‘यहाँ आउने पर्यटकको आगमन बढ्ने क्रममा छ। यहाँका स्थानीय कृषि र पर्यटन व्यवसायमा निर्भर छन्। पर्यटकको आगमनले यहाँको आर्थिक स्तर वृद्धि हुनाका साथै राष्ट्रकै अर्थतन्त्रमा सुधार गरिरहेको छ।’

विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ। अन्य देशबाट पर्यटक आउने भए पनि इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक बढी आउने गरेका छन्। संख्याका आधारमा यी राष्ट्रबाट धेरै हुन्।

‘अमेरिका, चीन, रसिया, भारतीय पर्यटक आउने क्रम बढ्दै गएको तथ्यांक हामीमा दर्ता भएका छन्,’ उनले भने। मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ। आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङ बताउँछन्।

उनी भन्छन्, ‘तीन–चार दिन लगातार बिदा परेको वेलामा मनाङमा आन्तरिक पर्यटकको आगमन बढी भएको पाएका छौँ। भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बिस्तारै बढ्दै गएको छ। विशेषगरी हाल मनाङ भ्रमणका लागि आन्तरिक पर्यटकको रोजाइ बनेको छ।’

आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन। तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेकाे छ। मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन्।

आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका- ९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए। लगातार बिदा भएको समयमा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका पाइएको उनकाे भनाइ छ।

दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ। कोभिडको संक्रमण र०७८ को बाढीपहिराेपछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ। हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ।

साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका- ७ मनांगे चौताराबाट यात्राको सुरुवात गर्दछन्।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ। काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन्।

पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खारसम्म पुग्ने गरेको पाइन्छ। त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन्। रासस

सुझावित समाचार