अहिले नेपालको फुटबलमा एउटा तरंग छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)को शैलीको ठाडै विरोध जनाएका छन् । एन्फाको यो व्यवहार परिवर्तन नहुँदासम्म नेपाल नफर्कने वाइल्डको अडान छ । जेजस्तो फुटबलमा आन्तरिक विवाद आए पनि एन्फाले भने लगभग डेढ दशकमा विदेशी प्रशिक्षकलाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ ।
सन् २०११ देखि २०२५ सम्म नेपाली पुरुष टोलीमा आठ विदेशी प्रशिक्षकले अवसर पाएका छन् । यसबिचमा बालगोपाल महर्जन, नवीन न्यौपाने तथा प्रदीप हुमागाईंले पनि छोटो समयका लागि टोली सम्हाल्ने अवसर पाए । ग्राहम रोबर्ट्स विदेशीमध्ये सवैभन्दा हाइप्रोफाइलका थिए । उनले नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको सेमिफाइनल र विश्वकपअन्तर्गत एसियन छनोटको दोस्रो चरणमा पुर्याए ।
उपाधि हात नपारे पनि अब्दुल्ला अलमुताइरीले नेपाललाई साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका थिए । जापानिज प्रशिक्षक कोजीले नेपालको उमेर समूहमा एएफसी सोलिडारिटी कप दिलाएका थिए । यो १५ वर्षमा नेपाल फुटबलका मुख्य प्रशिक्षक बनेका यस्ता छन् ।
ग्राहम रोबर्ट्स
रोबर्ट्स नेपाली फुटबलकै अहिलेसम्मका हाइप्रोफाइल विदेशी प्रशिक्षक हुन् । उनी इंग्ल्यान्डका पूर्वराष्ट्रिय खेलाडी तथा टोटनह्यामका डिफेन्डर हुन् । सन् २०११–१२ सम्म उनले एक वर्ष नेपालको पुरुष टोली सम्हाल्दा एक किसिमको हलचल मच्चाए । मैदानभित्र र बाहिर उनलाई कसैको हस्तक्षेप मन पर्दैनथ्यो । खेलाडी र पदाधिकार अनुशासनमा रहनुपर्ने उनले नियम नै बनाए ।
सन् २०११ मा एएफसी च्यालेन्ज कप छनोटमा नेपाल उत्तर कोरियासँग झिनो १–० ले मात्र पराजित भयो । सन् २०१० मा उत्तर कोरियाले दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी भएको पूरै उत्तर कोरियाले नेपालविरुद्ध प्रतिस्पर्धा गरेको थियो । रोबर्ट्सको प्रशिक्षणमा नेपालले उत्तर कोरियाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्यो । उनकै समयमा नेपालले एसियाकै बलियो राष्ट्र जोर्डनलाई दशरथ रंगशालामा १–१ को बराबरीमा रोक्न सफल भएको थियो ।
तर, विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो लेगमा नेपाल भने जोर्डनसँगै ९–० ले पराजित रह्यो । नेपाल पहिलोपटक विश्वकपअन्तर्गत एसियन छनोटको दोस्रो चरणमा पुगेको उनकै प्रशिक्षणमा थियो । सन् २०१२ को एएफसी च्यालेन्ज कप छनोटमा तुर्किमिनिस्तानसँग ३–० ले पराजित भएपछि रोबर्ट्सले राजीनामा दिए ।
ज्याक स्टेफानोस्की
रोबर्ट्सपछि नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा पोल्यान्डका ज्याकले आए । ठुलो प्रोफाइल नभएपछि ज्याकको मुख्य विशेषता युवा खेलाडीलाई प्राथमिकता राख्दै एक्पोजर दिलाए । उनी रोबर्ट्सजस्तो हक्की र रिसाहा स्वभावका थिएनन् ।
विमल घर्तीमगर, अञ्जन विष्ट तथा अनन्त तामाङजस्ता युवा फुटबलरले सिनियर टोलीमा भरपुर मौका पाए । ज्याकको कार्यकालमा नेपालले ठुलो जित निकालेको नर्दन मारिया आइसल्यान्डविरुद्ध ६–० थियो । फिलिपिन्ससँगको एक मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले पराजित भयो । उनको प्रशिक्षणमा नेपालले ठुलो अन्तरले हार व्यहोरेको यही नै थियो ।
ग्योतुकी कोजी
नेपालले धेरै समयपछि जापानिज प्रशिक्षक कोजीलाई नियुक्त गर्यो । जापानको राष्ट्रिय टोलीबाट कहिले प्रतिस्पर्धा नगरे पनि कोजीले प्रशिक्षण लेभल निरन्तरता गरिरहे । एएफसीबाट राष्ट्रिय टोली सम्हाल्ने लाइसेन्स पाएपछि उनले पहिलोपटक नेपाल सम्हालेका हुन् ।
यसअघि उनीसँग जापानको क्लबलाई प्रशिक्षण गरेको अनुभव थियो । जापान सरकारको सहयोगमा कोजी नेपाली टोलीको मुख्य प्रशिक्षक बने । सिनियर टोलीमा सफलता हात नपारे पनि उनकै प्रशिक्षणमा एएफसी सोलिडारिटी कप भने नेपालले जितेको थियो । सो प्रतियोगितामा नेपालले एक खेल पनि नगुमाएर उपाधि हात पारेको थियो । नेपाली फुटबलमा एएफसीले आयोजना गरेको प्रतियोगिताको ट्रफी जितेको यो नै पहिलोपटक थियो ।
जोहान कालिन
कालिनले छोटो समय नेपाली टोली सम्हाले । उनीसँग राष्ट्रिय टोलीलाई प्रशिक्षण गरेको कुनै अनुभव थिएन । सन् २०१३–१४ को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कालिनकै प्रशिक्षणमा मच्छिन्द्र फुटबल क्लबले अप्रत्याशित रूपमा दोस्रो स्थान रक्षा गरेको थियो ।
‘ए’ डिभिजन क्लब सम्हालेको व्यक्ति कालिनलाई एन्फाले विदेशी प्रशिक्षकका रूपमा नियुक्त दियो । सन् २०१९ मा अस्ट्रेलियामा भएको विश्वकप छनोटमा नेपाल कुवेतसँग पहिलो चरणमा फराकिलो अन्तरले पराजित भएको थियो ।
फिनिसिङ लाइन बलियो बनाउन नसक्दा कालिनको समयमा नेपालको पोस्टमा विपक्षी टोलीले २३ गोल गरेका थिए । उनको कार्यकालमा नेपालले ऐतिहासिक रूपमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । कालिनले १३ अन्तर्राष्ट्रिय खेलमा सहभागी जनाउँदा एकवटा मात्र नेपाललाई जित दिलाएका थिए ।
अब्दुल्लाह अलमुताइरी
नेपालको फुटबलमा ग्राहम रोबर्ट्सपछि विवादमा परेका प्रशिक्षक अलमुताइरी हुन् । छोटो समय नेपाली टोली सम्हाल्दा अलमुताइरी र एन्फाबिच पटक–पटक विवाद भइरह्यो । टोलीमाथि हस्तक्षेप गरेका कारण नै उनले पदबाट राजीनामा दिए ।
यद्यपि, उनले आफ्नो कार्यकालमा खेलाडीलाई एउटा शैली सिकाए । त्यो थियो, मैदानमा विपक्षीजस्तो भए पनि हार नमान्ने र गोल गर्न अन्तिम सयसम्म प्रयास गरिरहने थियो । नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा उनले पुर्याएका थिए ।
तर, नेपाल भारतसँग फाइनलमा पराजित भयो । उनले आयुष घलान तथा मनीष डाँगीजस्ता युवा खेलाडीलाई मौका दिए । उनको समयमा धेरैजसो युवा खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।
भिसेन्जो अल्बर्टो
एन्फाले धेरै विश्वास गरेका प्रशिक्षकमध्ये इटालिन प्रशिक्षक भिसेन्जो थिए । भिसेन्जोको प्रशिक्षणमा नेपालले १८ अन्तर्राष्ट्रियमध्ये ११ खेलमा हार व्यहोरेको थियो । उनको कार्यकाल समाप्त भए पनि एन्फालाई नवीकरण प्रयास गर्यो । तर, एन्फाका केही पदाधिकारीका विरोध पछि भिसेन्जोको सम्झौता नवीकरण भएन ।
उनको समयमा नेपालले सन् २०२६ को विश्वकप छनोटमा लगातार पाँच खेलमा हारको सामना गर्यो । उनले खेलाडीसँग राम्रो सम्बन्ध बनाउन सकेनन् । यसैकारण सिनियर खेलाडीले उनको विरोध नै गरेका थिए ।
प्याट्रिक असेम्स
बेल्जियमका प्याट्रिकले एकपटक मात्र नेपाली टोलीलाई मुख्य प्रशिक्षण दिएका थिए । सन् २०१५ को साफ च्याम्पियनसिपमा नेपाल उनकै प्रशिक्षणमा पहिलो चरणबाटै बाहिरिएको थियो । उनको प्रशिक्षणमा नेपालले एक खेल पनि जित्न सकेन । भारतसँग साफ च्याम्पियनसिपमा नेपाल ४–१ ले पराजित भएको थियो ।
उपलब्धि भने स्वदेशी प्रशिक्षकको पालामा
एन्फाले विदेशी प्रशिक्षकलाई नियुक्त नगरेको अवस्थामा स्वदेशीलाई जिम्मेवारी दिने गरेको छ । विदेशीभन्दा स्वदेशी प्रशिक्षकले नै नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाएका छन् । यसमध्ये बालगोपाल भाग्यमानीमा पर्छन् । उनले तीनपटक नेपाली टोली हेर्ने अवसर पाए ।
उनले नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि दिलाए । सन् २०१६ मा उनकै प्रशिक्षणमा नेपालले बंगबन्ध गोल्डकप जितेको थियो । यसैगरी, सन् २०१९ मा नेपालले यू–१९ साफ च्याम्पियनसिप जित्दा उनी नै प्रशिक्षक थिए ।
सन् २०१९ मा नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले फुटबलमा स्वर्ण जित्दा उनी नै मुख्य प्रशिक्षक थिए । यसैगरी, सन् २०२१ मा नेपालले तीन राष्ट्र सम्मिलित प्रतियोगितामा उपाधि बालगोपालकै प्रशिक्षणमा जितेको थियो ।