- म्यानचेस्टर सिटीमा आबद्ध विदेशी खेलाडी परिवारसँग छुट्टी मनाइरहेका छन् । प्रमुख स्ट्राइकर इर्लिन हल्यान्ड पे्रमिका इसाबेल जोहान्सेनसँगै स्पेनमा छन् ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबल प्रतियोगितामा गतिलो प्रदर्शन गर्न सकेन । अमेरिकामा चलिरहेको प्रतियोगितामा सिटी एक दाबेदार टोली थियो । तर, नकआउट चरणमा साउदी प्रो लिग अल हिलालबाट स्तब्ध हुँदा सिटी छिट्टै घर फर्कियो । सन् २०२५/२६ को सिजनमा सिटीले महत्वपूर्ण उपाधि जित्ने लक्ष्य राखेको थियो । यो महत्वाकांक्षी योजना पूरा नभएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीहरूलाई फ्रेस बनाउन ‘ब्रेक’ दिएका छन् ।
सिटीमा आबद्ध सबैजसो विदेशी खेलाडीहरू आ–आफ्नो परिवारसँग छुट्टी मनाइरहेका छन् । सिटीका प्रमुख स्ट्राइकर इर्लिन हल्यान्ड प्रेमिका इसाबेल जोहान्सेनसँगै छिन् । धेरैपछि ब्रेक पाएपछि हल्यान्ड र इसाबेल स्पेनमा रोमान्समा छन् ।
नर्वेका युवा खेलाडी हल्यान्डले आफ्नै निजी विमान प्रयोग गरेका छन् । युरोपको इबिजा समुद्री किनारमा दुवै महँगो याट्चमा दिन बिताइरहेको बेलायती एजेन्सीले जनाएको छ । लगातारको खेलपछि थकित भएका हल्यान्ड फ्रेस देखिन्छन् । उनी कहिले प्रेमिकासँग कुराकानी र समुद्रमै स्विमिङ गरिरहेका हुन्छन् । हल्यान्डले ‘ब्रेक’ लिइरहेको समय यादयार बनाउन आफ्नो साथमा फोटोग्राफरसँगै लगेका छन् । फोटोग्राफरकै निर्देशनमा हल्यान्डले पोज दिने गरेका छन् ।
१० वर्षदेखि इसाबेलसँगै
यी दुई जोडीको सम्बन्ध १० वर्षअगाडिदेखि चलिरहेको छ । सन् २०१५ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा रहँदा हल्यान्ड र इसाबेलबिच सम्बन्ध गाँसेको हो । आधा दशक जर्मन क्लबमा बिताउँदा प्र्रत्येक साता हल्यान्ड प्रेमिका इसाबेललाई भेट घरमै पुग्थे । उनीहरूले प्र्रत्येक क्षण सोसल मिडियामा पोस्ट गर्छन् । अमेरिकामा क्लब विश्वकप चलिरहँदा इसाबेल गइनन् । उनी युरोपमै थिइन् । यद्यपि, प्रशिक्षण र खेल सकेपछि हल्यान्डले कम्तीमा एकपटक प्रेमिकासँग फोन वार्ता गर्थे । उनले विश्वकपमा चार खेलमा तीन गोल गरेका थिए । ग्वार्डिओलाले हल्यान्डलाई आराम आवश्यकता भएकाले लामो बिदा दिएका बताएका छन् । ‘प्रिमियर लिगको नयाँ सिजनमा हल्यान्ड फिट र फ्रेस हुनुपर्छ, अहिले उनी धेरै थाकेका छन्,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यसैकारण मैले विश्वकपको प्रिक्वार्टरफाइनलबाट सिटी बाहिरिएपछि उसलाई ‘ब्रेक’ दिएको हुँ ।’
प्रिमियर लिगकै नियम
इंग्लिस प्रिमियर लिगको व्यवस्थापनले खेलाडीहरूलाई अनिवार्य रूपमा आराम र छुट्टी दिनुपर्ने जनाएको छ । सिजन समाप्त भएपछि खेलाडीलाई आ–आफ्नो घर पठाउने चलन छ । तर, फिफा क्लब विश्वकप नजिकिँदै गर्दा सिटीले आफ्ना खेलाडीलाई प्रशिक्षणमा राख्यो । सिटीले मात्र नभएर चेल्सीले खेलाडीलाई व्यस्त बनायो । चेल्सी अहिले फाइनलमा पुगेको छ । चेल्सीले आइतबार पेरिस सेन्ट जर्मेनसँग उपाधिका लागि खेल्नेछ । ‘हामीले उपाधि जित्ने लक्ष्यका साथ प्रशिक्षण गरेका थियौँ । तर, फरक मैदानमा सोचेजस्तो नतिजा आएन,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘फेरि सिटीले पनि प्रिमियर लिगको नियम पालना गर्नुपर्छ । विश्वकप सकेपछि मैले खेलाडीलाई ‘ब्रेक’ दिए ।’ १६ अगस्टमा सिटीले उल्भ्ससँग प्रतिस्पर्धा गर्दै प्रिमियर लिगको सुरु गर्नेछ ।