अनुशासनको कारबाहीले कांग्रेसमा तरंग : शेखर पक्षले अस्वीकार र प्रतिवाद गर्ने

विधानविपरीत र गुटप्रेरित भएर एउटा पक्षलाई पाखा लगाउने उद्देश्यले कारबाही गरिएको निष्कर्ष

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

कांग्रेसको शेखर कोइराला पक्षले विधानविपरीत पूर्वाग्रही भएर आफूनिकट नेताहरूलाई छानीछानी कारबाही गरिएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ । पार्टीको कुनै पनि सदस्यउपर उजुरी परेमा त्यसको ६ महिनाभित्र टुंग्याउनुपर्ने वैधानिक व्यवस्था भए पनि निर्वाचन भएको झन्डै तीन वर्षपछि गरिएको कारबाहीको निर्णय अवैधानिक भएको बैठकको निष्कर्ष छ । 

कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बिहीबार बसेको संस्थापनइतर पक्षको बैठकले गुटप्रेरित भएर अर्को पक्षलाई पाखा लगाउने उद्देश्यले कारबाही चलाइएको ठहर गरेको छ । ‘कांग्रेसको विधानको भावना र नियमावलीको व्यवस्थाको २८ (१) अन्तर्गत कुनै पनि पार्टीको सदस्यउपर उजुरी परेको वा पार्टीको नियमावली जारी भएको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्छ भनिएको छ । उजुरी परेको अढाइ वर्षपछि कारबाहीको निर्णय बाहिर आएको छ । यो कारबाही नै अबैधानिक छ । अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरित छ,’ बैठकपछि नेता गुरुराज घिमिरेले भने ।

संस्थापनइतर पक्षको बैठकपछि गुरुराज घिमिरेले भने–
कांग्रेस विधानको भावना र नियमावलीको २८ (१) मा कुनै पनि पार्टी सदस्यउपर उजुरी परेको वा पार्टीको नियमावली जारी भएको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्छ भनिएको छ । उजुरी परेको अढाई वर्षपछि कारबाहीको निर्णय बाहिर आएको छ । कारबाही नै अवैधानिक छ । 

पाँच सदस्यीय अनुशासन समितिको बहुमत (तीनजना)ले गरेको निर्णय अहिले बाहिर नल्याउने सहमतिविपरीत कार्य भएको ठहर पनि बैठकले गरेको छ । गत २३ असारमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुशासन समितिको कुनै पनि निर्णय अहिले बाहिर नल्याउने समझदारी गरे पनि तत्कालै बाहिर आउनु गम्भीर भएको बैठकको ठहर छ ।

अनुशासन समितिको विधानविपरीतको निर्णय कार्यान्वयन नगर्न पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने कोइराला पक्षको तयारी छ । ‘सभापति देउवासँग नेताहरूले कुरा गर्ने निष्कर्ष बैठकले निकालेको छ । सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय बसेर गरेको समझदारी सभापतिलाई सम्झाउने कुरा भएको छ,’ घिमिरेले भने, ‘शेखर कोइरालालगायतका नेताहरूले पनि यो परिस्थितिको अवगत गराउनुहुनेछ ।’

बैठकमा शेखर कोइरालाले कसैलाई पनि अन्याय हुन नदिने र अन्यायमा परेकालाई न्याय दिएरै छाड्ने अठोट गरेका छन् । ‘विधानविपरीत अन्यायपूर्ण ढंगले साथीहरूमाथि कारबाही गरिएको छ । यो न्यायपूर्ण छैन । यसको विरुद्धमा हामी लाग्नुपर्छ । कसैलाई पनि अन्यायमा पार्नु हुँदैन । अन्यायमा परेकालाई न्याय दिलाउनु हाम्रो कर्तव्य हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । उनका अनुसार कोइरालाले अन्यायविरुद्ध चुप लागेर बस्न नहुनेमा जोड दिएका थिए । ३५ दिनभित्र पुनरावलोकनका लागि निवेदन दिने र दुई महिनाभित्रै सबैको कारबाही फिर्ताका लागि दबाब दिने कोइरालो बताएका छन् । उपसभापति गुरुङले सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच अहिले अनुशासनको कारबाही नगर्ने समझदारी भए पनि समिति संयोजक आनन्द ढुंगानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेको दाबी गरे । ‘यो एक त विधानविपरीत छ । अर्को शीर्ष तहमा भएको सहमतिविपरीत पनि छ, त्यसलाई सच्याउनुको विकल्प छैन,’ गुरुङको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

नेता अर्जुननरसिंह केसीले बैठकपछि कुनै पनि नेता तथा कार्यकर्तालाई अन्याय हुन नदिने बताए । ‘साथीहरूलाई हामी अन्याय हुन दिँदैनौँ । विधान र नियमावलीभन्दा बाहिर गएर भएका कुनै पनि कारबाहीहरूलाई हामी स्वीकार गर्दैनौँ । यदि न्यायपूर्ण ढंगले भएन भने देशभरबाट नेता तथा कार्यकर्ता बटुलेर रिलेअनसन सुरु गर्छौँ । अनुशासनको नाममा पूर्वाग्रह स्वीकार्य हुँदैन,’ केसीको भनाइ थियो ।

अनुशासन समितिका संयोजक ढुंगानाले बुधबार पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णु राईलगायतललाई अनुशासनको कारबाही गरिएको विज्ञप्ति निकालेका थिए । संयोजक ढुंगाना, सदस्यहरू ईश्वरी न्यौपाने र ध्रुव वाग्लेले बहुमतको आधारमा निर्णय गरेका हुन् । समिति सदस्यद्वय सञ्जय गौतम र राजीव कोइरालाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । ढुंगानाले प्रमाण, विधान र नियमालीमै टेकेर हप्तादिन अघि नै कारबाहीको निर्णय भएको दाबी गरे । 

निष्कासनमा परेका कांग्रेस खोटाङका सभापति विष्णु राई भन्छन्
यो कारबाही आग्रह, पूर्वाग्रहबाट निर्देशित छ । ०७९ मा गठबन्धन गरेर प्रतिस्पर्धी पार्टीसँग हामी चुनावमा गयौँ । मैले जहाँ हामीलाई अन्य दलको आवश्यक पर्छ, त्यो ठाउँमा न्यायोचित रूपमा कार्यकर्ताको मनोबल उच्च बनाएर गठबन्धन गरौँ । तर, जहाँ स्थानीय कार्यकर्ता मान्दैमान्दैनन्, त्यहाँ कार्यकर्ताको मनोभावनाअनुसार जाऔँ भनेर स्थानीय तहको निर्वाचनमा भनेको थिएँ । म निर्वाचित सभापति हुँ । अहिले राजनीतिक प्रतिशोधका आधारमा निर्णय भएको छ ।

न्याय दिलाएरै छाड्ने शेखर कोइरालाको प्रतिबद्धता
संस्थापनइतर पक्षको बैठकमा नेता शेखर कोइरालाले कसैलाई पनि अन्याय हुन नदिने र अन्यायमा परेकालाई न्याय दिएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । ‘विधानविपरीत अन्यायपूर्ण ढंगले साथीहरूमाथि कारबाही गरिएको छ । यो न्यायपूर्ण छैन । यसको विरुद्धमा हामी लाग्नुपर्छ । कसैलाई पनि अन्यायमा पार्नुहुँदैन । अन्यायमा परेकालाई न्याय दिलाउनु हाम्रो कर्तव्य हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । ३५ दिनभित्र पुनरावलोकनका लागि पार्टीमा निवेदन दिने र दुई महिनाभित्रै सबैको कारबाही फिर्ताका लागि दबाब दिने कोइरालाको भनाइ थियो ।

सुझावित समाचार