निजी क्षेत्रको समस्या समाधान नगरे राष्ट्रिय आकांक्षा पूरा हुँदैन : उद्योगमन्त्री

बुधबार, २५ असार, २०८२
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका समस्या समाधान नगरेसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताएका छन् । निजी क्षेत्रका समस्या समाधान भए मात्रै पुँजी र रोजगारी बढ्ने भन्दै उनले वर्तमान सरकार निजी क्षेत्रको प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताए । 

काठमाडौंमा मंगलबार आयोजित नेपाल उद्योग परिसंघको २२औँ वार्षिक साधारणसभाको उद्घाटन सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले निजी क्षेत्रका माग र मुद्दा समग्र राष्ट्रको हुने बताए । ‘निजी क्षेत्रको माग र मुद्दा निजी क्षेत्रका मात्रै होइनन्, राष्ट्रिय हुन् र दशकौँदेखिका उहाँहरूको माग मुद्दा उस्तै छन्,’ उनले भने, ‘जबसम्म निजी क्षेत्रका समस्या समाधान हुँदैनन, चुनौती हट्दैनन् तबसम्म देशले संमृद्ध नेपाल सुखी नेपालीको चाहना पूरा गर्न सक्दैन ।’ नेपालको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान १५ प्रतिशतबाट ५ प्रतिशतमा झरेको भन्दै उनले यसले अहिलेको अर्थतन्त्रको अवस्था औँल्याएको बताए । उद्योगले देशको अर्थतन्त्र र देशको रोजगारी, उद्योग, उद्यमशीलता र विकासको मार्गचित्र देखाउने भन्दै यसको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको उनले बताए ।

बैंकमा अधिक तरलता थुप्रिनु चुनौतीपूर्ण
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह हुन नसकेर पैसा थुप्रिनु अर्थतन्त्रको अहिलेको सबैभन्दा ठुलो चुनौती भएको बताएका छन् । उनले अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित हुनु, ब्याजदर एकल विन्दुमा आइपुग्नु तथा समग्र माग बढ्दासमेत कर्जा प्रवाह नबढ्नु चिन्ताको विषय भएको बताए ।

‘विदेशी विनिमय सञ्चिति, शोधनान्तर बचतको हिसाबले बाह्य क्षेत्र राम्रो छ, अहिले मुद्रास्फिति पनि न्यून छ, बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य रकम साढे ६ खर्बभन्दा बढी छ । ब्याजदर पनि एकल विन्दुमा आएको छ,’ उनले भने, ‘ब्याजदर एकल विन्दुमा झरेको, बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य रकम रहेको भए तापनि समग्र माग बढ्न नसक्दा उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइरहेका छैनन् र लगानीसमेत गर्न सकिरहेका छैनन् । विद्यमान अर्थतन्त्रको सबैभन्दा ठुलो चुनौती भनेको नै यही हो ।’

दोहोरो अंकको आर्थिक वृद्धिका लागि अधिक लगानी 
सांसद एवं उद्योगी विनोद चौधरीले लगानीको गति र मात्रालाई पाँच गुणा बढाए मात्रै देशले गुणात्मक फड्को मार्ने बताए । उनले अहिले पुँजीगत खर्च दुई खर्ब हाराहारी मात्रै भइरहेको भन्दै यसले मात्रै अपेक्षित विकास हासिल गर्न नसकिने औँल्याए । पुँजीगत खर्चलाई पाँच गुणाले बढाएमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकिने उनले बताए । अहिले दैनिक दुई हजार चार सय हाराहारी युवा वैदेशिक रोजगारीमा गइरहेको तथा शैक्षिक अध्ययनका लागि वार्षिक डेढ खर्ब रुपैयाँ बिदेसिएको तथ्यांक डरलाग्दो र भयावह रहेको बताए । 

सुझावित समाचार