- अल इंग्ल्यान्ड टेनिस क्लबले राजपरिवारका सदस्य, पूर्वखेलाडीदेखि विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वलाई पाहुनाका रूपमा रोयल बक्समा निमन्त्रणा दिन्छ । उनीहरूले टिकट किन्नु नपर्ने र लाइनसमेत बस्नु नपर्ने व्यवस्था छ ।
बेलायतको लन्डनमा वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता चलिरहेको छ । अहिले प्रिक्वार्टरफाइनल खेल चलिरहेको छ । सर्बियाली नोभाक जोकोभिक रोजर फेडेररको कीर्तिमान बराबरी गर्न अग्रसर छन् । फेडेररले कीर्तिमान रूपमा आठपटक र जोकोभिकले सातपटक उपाधि जितेका छन् ।
जब विम्बल्डनमा स्टार खेलाडीको प्रदर्शनको चर्चा हुने गर्छ । त्यससँगै सेन्टर कोर्टमा रहेको रोयल बक्सको प्रसंग पनि उठ्ने गर्छ । रोयल बक्स विशेष मानिन्छ । सेन्टर कोर्टको दक्षिण स्ट्यान्डमा यो बक्स रहेको छ । भिआइपीदेखि अतिविशिष्ट पाहुनाले रोयल बक्समा बसेर विम्बल्डनको आनन्द लिन्छन् ।
आखिर रोयल बक्स किन महŒवपूर्ण मानिन्छ ? सन् १९२२ मा विम्बल्डन हुँदा पहिलोपटक रोयल बक्स स्थापन्ना गरिएको थियो । रोयल शब्दले राजपरिवारलाई जनाउँछ । सुरुवाती दिनमा बेलायतमा राजपरिवारका सदस्यले यसै रोयल बक्समा बसेर विम्बल्डन हेर्थे । परिवर्तनसँगै यसमा बस्ने व्यक्ति पनि फरक–फरक हुन थालेका छन् । ७४ सिट क्षमता भएको छुट्टै बस्न मिल्ने यस क्षेत्रमा अहिले राजपरिवारका सदस्यसँगै सेलेब्रिटी तथा खेलाडी बस्छन् । अल इंग्ल्यान्ड टेनिसले यसबाहेक अरू चर्चित व्यक्तिलाई पनि हरेक दिन पाहुनाका रूपमा निमन्त्रण दिने गरेका छन् ।
टिकट किन्नु नपर्ने
आयोजकले प्रत्येक दिन रोयल बक्समा बस्ने पाहुनाका लागि विशेष किसिमको व्यवस्था गरेको हुन्छ । सामान्य दर्शकदीर्घा वा भिआइपी बक्समा आउने दर्शकले टिकट किन्नुपर्छ । तर, रोयल बक्सका पाहुनाहरूले न टिकट किन्नुपर्छ, न लाइनमै बस्नुपर्छ । अझ खेल सुरु हुनुअघि उनीहरूलाई लन्चको व्यवस्थासमेत गरिएको हुन्छ । अर्को रमाइलो पक्ष के भने खेल समाप्तिपछि पाहुनाहरूले चिया वा ड्रिंक्सको फरक व्यवस्था गरेको हुन्छ । यो चिया वा ड्रिंक्स सेक्सनमा रोयल बक्समा पाहुना बनेर आएका व्यक्तिहरूले अन्य चर्चित व्यक्तित्व र राजपरिवारका सदस्यसँग फेस टु फेस वार्ता गर्छन् । अल इंग्ल्यान्ड क्लबका अध्यक्ष तथा पूर्वखेलाडी डेब्बी जेभान्सले सन् २०२३ देखि फरक नियम बनाए । उनले रोयल बक्समा वरीयताअनुसार पाहुनालाई बस्ने व्यवस्था मिलाए । प्रत्येक दिन अल इंग्ल्यान्ड टेनिस क्लबले कसलाई बोलाउने भनी बैठक राखिन्थ्यो । बैठकले पास भएका व्यक्ति वा दिग्गज खेलाडीको चयन गर्छ ।
सिटको रङअनुसार बस्नुपर्ने
रोयल बक्समा प्रत्येक दिन आएका पाहुना जहाँ पायो त्यही बस्न मिल्दैन । उनीहरूको वरीयताअनुसार सिटको व्यवस्था गरिएको हुन्छ । अझ भोलेन्टियरलाई सहज बनाउन पाहुनाको टिकटमा रङ राखिदिएको हुन्छ । टिकटको रङ मिल्ने सिटअनुसार बस्नुपर्ने व्यवस्था आयोजकले बनाएको छ । जस्तो कम चर्चित व्यक्तिका लागि निलो रङको सिट छुट्याइएको हुन्छ । हरियो रङका सिटमा भने उच्चपदस्थ व्यक्तित्व, पूर्वविजेता तथा चर्चित कलाकारलाई राखिएको हुन्छ । राजपरिवार, राष्ट्रप्रमुख, राष्ट्रपति र प्रधामन्त्रीका लागि भने अगाडिको सिट व्यवस्था हुन्छ ।
यस वर्ष बेकह्यामदेखि सचिनसम्म
आयोजकले प्रत्येक वर्ष रोयल बक्सको आकर्षण बढाउन विभिन्न खेलाडीलाई निमन्त्रण दिँदै आएको छ । यस वर्ष इंग्लिस फुटबलकै आइकोनिक फुटबलर डेभिड बेकह्याम सुरुवाती दिनमै रोयल बक्समा देखिएका थिए । त्यसपछि क्रिकेट जगत्मा खुबै नाम कमाएका भारतका सचिन तेन्दुलकर र उनकी श्रीमतीले पनि रोयल बक्समा बस्ने अवसर पाए । रोयल बक्समा नियमित रूपमा सर्वाधिक विजेता फेडेरर आउने गरेका छन् । यसपटक चर्चित अनुहारमा पप गायिका ओलिभर रोड्रिगो पनि रहिन् । डेनमार्कका राजा फ्रेडरिक, ओलम्पिकमा दोहोरो स्वर्ण विजेता केली होम्स, भौतिकशास्त्रीका प्रोफेसर ब्रायन कोक्सजस्ता चर्चित अनुहार रोयल बक्समा पाहुनाका रूपमा आएका छन् ।