जैमिनी नगरले एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्ने

आइतबार, २२ असार, २०८२
डिजिटल संस्करण

जैमिनी नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि सहायोग पुर्याउने उद्देश्यका साथ एक अर्बबराबरको नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्ने भएको छ । तीन वर्षअघि जैमिनी नागरिक स्वास्थ्य उपचार कोष घोषणा गरेर अभियान सुरु गरेको नगरपालिकाले हाल कोषमा ५० लाख १० हजार रुपैयाँ जम्मा भइसकेको जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुनले बताए । 

नगरपालिकाले पहिलो वर्ष १० लाख कोषमा जम्मा गरेर अभियान सुरु गरेको थियो । चालु आर्थिक वर्षमा १५ लाख जम्मा गरेको छ । आगामी आर्थिक वर्षमा २५ लाख जम्मा गर्ने गरी रकम विनियोजन गरिएको छ । ‘आगामी एक वर्षमै कोष वृद्धि गरेर एक करोड पुर्याउने छौँ,’ मेयर पुनले भने ।

कोषको व्याजबाट नागरिकको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्यसहित कोष निर्माण थालिएको मेयर पुनले बताए । कोष वृद्धिका लागि नगरपालिकाले आमनागरिकलाई पनि आह्वान गरेको छ । 

सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नगरपालिकाले कोष स्थापना गरेको उनले बताए । कोषमा नागरिकको तर्फबाट जैमिनी नगरपालिकामै कार्यरत योजना अधिकृत प्रेम सापकोटाले आफ्नो जन्मदिनको अवसरमा १० हजार रुपैयाँ जम्मा गरेर कोषमा योगदान गर्ने पहिलो नागरिक भएका छन् । 

सुझावित समाचार