राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा प्रोटोकलअनुसार आइसियू सेवा उपलब्ध नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
अस्पतालको बेड क्षमताको ३० प्रतिशत आइसियू सेवा उपलब्ध हुनुपर्ने उल्लेख गर्दै रिजालले बिहीबार राष्ट्रिय सभाको बैठकमा सेवा विस्तार गर्न सरकारसँग माग गरेका हुन्।
२०० बेड क्षमताको ट्रमा सेन्टरमा १० वटा मात्रै आइसियू सेवा रहेको उल्लेख गर्दै उनले भने, ‘चिकित्सकहरूका अनुसार सामान्यतया ट्रमा बिरामीहरूलाई चार घण्टाभित्र उपचार दिनुपर्ने हुन्छ। तर, आइसियू सेवा अभावका कारण त्यहाँबाट बिरामीलाई अन्यत्र निजी अस्पतालमा लैजानुपर्ने बाध्यता छ र कतिपय अवस्थामा आइसियू नपाएर बिरामीको मृत्युसमेत हुने गरेको छ।’
ट्रमा अस्पतालमा एमआरआई सेवासमेत नरहेको उल्लेख गर्दै रिजालले थपे, ‘अस्पताल प्रशासनका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा अहिले भएको जनशक्तिले नै प्रोटोकलअनुसारको थप ५० आइसियू सेवा दिन सक्ने भएकाले त्यहाँ तत्काल आइसियू सेवा विस्तार गर्न र एमआरआई सेवाको समेत तत्काल व्यवस्था गर्न सम्माननीय अध्यक्षज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’