निगमको सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ

प्राधिकरणले जग्गा खाली गराएर हस्तान्तरण नगर्दा डिपो निर्माणमा ढिलाइ

सोमबार, १६ असार, २०८२
डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ स्थानमा जग्गा उपलब्ध गराउन आलटाल गर्दा सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्न ढिलाइ भएको आयल निगमले जनाएको छ । आधुनिक प्रविधियुक्त नयाँ डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसक्दासमेत प्राधिकरणले जग्गा उपलब्ध नगराउँदा निर्माण कार्य अघि बढाउन ढिलाइ भएको निगमले दाबी गरेको हो । 

नयाँ गुरुयोजना बनाएर त्रिभुवन विमानस्थल विस्तार गरिरहेको प्राधिकरणले हाल निगमको हवाई इन्धन डिपो रहेको स्थानमा ‘ट्याक्सी वे’ बनाउने र इन्धन डिपोका लागि विमानस्थलको उत्तर–पश्चिम कुना गुह्येश्वरीमा जग्गा उपलब्ध गराउने नीति लिएको छ । मन्त्रिपरिषद्ले गत २८ भदौमा सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरीमा स्थानान्तरण गर्न स्वीकृति दिइसकेको छ । तर, नौ महिना बितिसक्दासमेत उक्त स्थानको जग्गा उपलब्ध गराउन प्राधिकरणका तर्फबाट ठोस प्रगति नभएको निगमका उपनिर्देशक प्रदीप यादवले बताए ।

निगमले आइतबार पत्रकार सम्मेलन गरेर डिपो स्थानान्तरणमा भइरहेको ढिलाइबारे जानकारी गराएको हो । मन्त्रिपरिषद्ले स्वीकृति दिएयता प्राधिकरणले जग्गा खाली गर्नका लागि माटोको ढिस्को कटान गर्नेबाहेक अन्य केही काम नगरेको उपनिर्देशक यादवले जानकारी दिए । ‘मन्त्रिपरिषद्ले नयाँ डिपो निर्माण गर्न स्वीकृति दिएपछि हामीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन गत ५ मंसिरमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको कन्सल्टेन्सी सेवा विभागसँग सम्झौता गरिसकेका छौँ,’ यादवले भने, ‘आगामी २७ असारमा डिपिआर हस्तान्तरणसमेत हुँदै छ ।’

सुझावित समाचार