बलात्कार मुद्दामा सफाइकाे भोलिपल्टै डिएसपीनिवासमा पार्टी : घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने

बुधबार, ११ असार, २०८२
डिजिटल संस्करण
बलात्कार मुद्दामा सफाइकाे भोलिपल्टै डिएसपीनिवासमा पार्टी : घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने

डिएसपी जितेन्द्रकुमार बस्नेत (सेतो टिसर्ट लगाएका)को क्वार्टरमा आयोजित प्रहरी निरीक्षक मनीष श्रेष्ठ (मैनबत्ती बोकेका)को ‘बर्थ डे सेलेब्रेसन’ मा सहभागी आकाश आदर्श (सुन्तला रङको टिसर्ट लगाएका)

प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले जिल्ला प्रहरी कार्यालय सप्तरीपरिसरमा डिएसपीनिवासमा  ‘सेलेब्रेसन’ गरेको विषयलाई ‘नोटिसमा लिएको’ बताएका छन्।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै आइजिपी थापाले नयाँ पत्रिका पढेर उक्त घटनाको जानकारी पाएको बताए।

बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट गत ४ जेठमा सफाइ पाएका राजविराज नगरपालिका– ६ का आकाश आदर्शले भोलिपल्टै डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक मनीष श्रेष्ठको ‘बर्थ डे सेलेब्रेसन’ गरेका थिए।

उक्त घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने बताउँदै आइजिपी थापाले समितिमा भने, ‘मधेश प्रदेशमा कार्यरत रहेका डिआइजी साहेबलाई छानबिनका लागि हेर्नु भनेको छु। यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गर्दै छ।’

सुझावित समाचार