गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण

गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ। इच्छाकामनाका उर्दाङढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र  इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् ।

होटेल व्यवसायी संघका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् ।  ‘चितवनका तराई क्षेत्रमा गर्मी बढ्दोे छ, तर यहाँ गर्मीको महसुस नै हुँदैन, जाडो छ,’ पूर्वअध्यक्ष ढकालले भने ।   

गर्मी बढेसँगै मायाटारसहित उर्दाङगढी, घुर्केश, हात्तीवाङलगायत गाउँका घरबास भरिभराउ छन् । इच्छाकामना– २, मायाटारमा घरबास सञ्चालन गर्दै आएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताए । उनले भने, ‘यहाँ बाह्रै महिना पर्यटकहरू आउने गर्छन्, तर गर्मी मौसम आन्तरिक पर्यटककको चाप बढ्ने गरेको छ ।’

उनका अनुसार गत वर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताए । 

हाल घुर्केशमा १४ र मायाटारमा दुईवटा घरबास सञ्चालनमा रहेकाे जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पालिका क्षेत्रका  पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताए ।

सुझावित समाचार