एमाले भ्रातृ संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि डा. सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सर्वसम्मत नेतृत्व चुन्न अध्यक्ष केपी ओलीले दिएको निर्देशन असफल भएपछि अन्ततः चुनाव भइरहेको हो । मतदान बिहीबार बिहानबाट हुने संशोधित कार्यतालिका छ ।
उपाध्यक्षमा कडरिया प्यानलबाट अञ्जना शिवाकोटी र पौडेल पक्षबाट विकास श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्षहरूमै राजकुमार ढकाल, भरतसिंह धामी, धमेन्द्र केसी र गणेशबहादु शाही, महिला उपाध्यक्षमा सुजिता धिताल, भवानी बजगाईं र आरती भट्टराई पनि उम्मेदवार भएका छन् । महिला उपाध्यक्षमा भट्टराईले पौडेल प्यानलबाट उम्मेदवारी दिएकी हुन् । त्यस्तै, महासचिव पदमा कडरिया प्यानलबाट दीपक धामी र पौडेल प्यानलबाट आरके रोमशले उम्मेदवारी दिएका छन् ।
उपमहासचिवमा प्रेमिका शाही, कमल जोशी र अमरबहादुर शाही उम्मेदवार छन् । सचिवमा दिलीप खड्का, रेखा न्यौपाने, रक्षा बम, आकाश घर्तीमगर र रेखा थापासहित तीन दर्जनजतिको उम्मेदवारी परेको छ । पाँच सय २१ जना उम्मेदवार छन् ।
सचिवालय सदस्यमा महिला क्लस्टरबाट बिहानी पंगेनी निर्वाचित भएकी छिन् । यही सम्मेलनबाट ३२ वर्षे उमेर हद लागेपछि अध्यक्षको दौडमा रहेका नरेश रोकायसहित पदाधिकारी र सचिवालयमा दाबेदार एक सयभन्दा बढी कार्यकर्ता बाहिरिएका छन् ।