राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी प्रदेशबाट ११३ सदस्यीय टोली

मंगलबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेशबाट १५औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षक गरी ११३ जनाले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरूलाई लुम्बिनी प्रदेश सरकारले बिदाइ गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सोमबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित एक कार्यक्रमबिच प्रतियोगितामा भाग लिने टोलीलाई सामूहिक बिदाइ गरेका हुन् ।

भलिबल, उसु, कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्स गरी ६ विधामा प्रतिस्पर्धा गर्ने ९८ जना खेलाडी र १३ जना प्रशिक्षकलाई बिदाइ गरिएको हो ।

उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न मन्त्री ढकालले खेलाडीहरूलाई हौसला दिएका छन् । उनले लुम्बिनी प्रदेश सरकारले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए । साथै, नियमित प्रतियोगिता र संरचनागत सुधारमा विशेष ध्यान दिइएको पनि उनले उल्लेख गरे ।
यसपटक लुम्बिनी प्रदेशले उपाधि हात पार्ने गरी प्रतियोगितामा सहभागिता जनाउन थालेको खेलकुद परिषद्का सदस्यसचिव तिरणदाज गौतमले जानकारी दिए । 

सुझावित समाचार