कर्णाली डेभलपमेन्ट बैंक घोटालामा संलग्न अर्का मुख्य अभियुक्त पक्राउ

मंगलबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

कर्णाली डेभलपमेन्ट बैंक घोटनला प्रकरणमा संलग्नमध्येका अर्का मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका लेखा प्रमुख वेदप्रकाश सिंह ठकुरी रहेका छन् । उनी घोटालाका मुख्य अभियुक्त राजेन्द्रवीर रायका विश्वासिला पात्र हुन् ।

घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले गरिरहेको छ । सिआईबीका अनुसार ठकुरी ०७० देखि ११ पुस ०८१ सम्मै बैंकमा कार्यरत थिए । लेखा सहायकबाट बैंक प्रवेश गरेका उनी पछिल्लो चरण लेखा प्रमुखको भूमिकामा थिए । घोटनलामा उनको मुख्य भूमिका रहेको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । उनले भने, ‘बैंकमा दुई अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको देखिन्छ । घटनामा संलग्नमध्ये वेदप्रकाश सिंह ठकुरी पनि हुन् । उनी पक्राउ परेका छन् । ठकुरी घोटालाका मुख्य अभियुक्त राजेन्द्रवीर रायका खास सहयोगी रहेको खुलेको छ । घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिन्छ । अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ ।’

प्रहरीले रायलाई गत १७ जेठमा भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो । डेभलपमेन्ट बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने सूचना पाएपछि उनी फरार भएका थिए । बैंकले गत ११ पुसमा डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थिए । राय डेभपलमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा कार्यकारी अधिकृत हुन् । सञ्चालक समितिमा समेत पटक–पटक रहेका उनले बैंकको दुई अर्ब ५९ करोड रुपैयाँ घोटाला गरेका थिए । घोटालामा पक्राउ परेका ठकुरी सुरुदेखि नै संलग्न रहेको सिआइबीको दाबी छ ।

सिआइबी प्रमुख एआइजी चन्द्रकुबेर खापुङले बैंकमा एकैपटक समस्या नआएको र घटनामा ठकुरीको भूमिका विशेष देखिएको बताए । उनले भने, ‘बैंकमा एकैपटक समस्या आएको होइन । समस्याबारे बैंकका कर्मचारी र राष्ट्र बैंकमार्फत अनुगमनमा जाने कर्मचारीलाई थाहा नहुने कुरो हुँदैन । यसमा ठकुरीको खास भूमिका रहेको देखिन्छ । घटनाको अनुसन्धान चलिरहेको छ ।’

बैंकको कुल निक्षेप संकलन चार अर्ब ९० करोड रहेको देखिएको छ । नक्कली ऋणी खडा गर्ने मात्र नभई नक्कली ब्यालेन्ससिटसमेत बनाएर निक्षेप रकम घोटाला भएको सिआईबीको अनुसन्धानबाट देखिएको छ । सिआईबीका प्रवक्ता खड्काले भने, ‘यिनीहरूले नक्कली ऋणी बनाएका छन् । कति संख्यामा यस्ता ऋणी खडा गरिए भन्ने विषयमा खोजी हुँदै छ । यिनीहरूले नक्कली ब्यालेन्ससिट बनाएर निक्षेपकर्तालाई झुक्याउने गरेको देखिन्छ ।’

बैंकको स्थापना ०७० मा भएको थियो । त्यसलगत्तै बैंकमा जम्मा भएको निक्षेप अपचलन हुँदै आएको थियो । रकम हिनामिनामा पूर्वसिआइओ दिनेशकुमार रावत, वर्तमान सिआइओ नीरजविक्रम शाह पनि संलग्न रहेको देखिएको छ । रकम हिनामिनामा बैंकमा अन्य कर्मचारीको पनि संलग्नता देखिए पनि मुख्य योजनाकार राय नै रहेको सिआइबीको भनाइ छ । 

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेलगत्तै मातहतको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन ससदस्यी समिति बैंक पठाएको थियो । समितिको सदस्यमा वित्तीय संस्था सुपरिवेक्षण विभाग उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखा उपनिर्देशक जुगलकिशोर कुशवाह रहेका छन् । उनीहरूले गरेको अध्ययनपछि बैंकमा दुई अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै रकम अपचलन भएको खुलेको थियो । 

अनुसन्धान राष्ट्र बैंकमाथि पनि 
नेपाल राष्ट्र बैंक ऐन, ०५८ को दफा ८४ अनुसार इजाजत प्रदान गरिएका वाणिज्य बैंक तथा वित्तीय संस्थाको जुनसुकै वेला निरीक्षण तथा सुपरिवेक्षण गर्न र गराउन सक्छ । 

उक्त ऐनको दफा ८४ को उपदफा २ मा भनिएको छ, ‘बैंकले जुनसुकै वेला वाणिज्य बैंक र वित्तीय संस्थाको जुनसुकै कार्यालयको निरीक्षण तथा सुपरिवेक्षण गर्न, गराउन सक्नेछ । यस्तो निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धित कार्यालयमा बैंकको कुनै अधिकारी वा बैंकले तोकेको विशेषज्ञ खटाई वा विस्तृत विवरण तथा सूचना बैंकमा नै झिकाएर पनि गर्न सकिनेछ ।’

कानुनको सोही दफा प्रयोग गरी राष्ट्र बैंकले डेभलपमेन्ट बैंकको बहिखाता पटक–पकट निरीक्षण र सुपरिवेक्षण गरेको छ । तर, निरीक्षण र सुपरिवेक्षणकर्ताले डेभलपमेन्ट बैंकमा सुरुदेखि भएको घोटाला पत्तै पाएनन् । त्यसो हुँदा सिआइबीले निरीक्षण र सुपरिवेक्षणमा खटिएका कर्मचारीउपर पनि निगरानी गरिरहेको छ । सिआइबी प्रमुख एआइजी खापुङले भने, ‘बैंकमा एकैपटक समस्या आएको होइन । निरीक्षणका लागि राष्ट्र बैंकबाट कर्मचारी खटिएका छन् । तर, उनीहरूले बैंकमा भएको घोटाला थाहा नपाउनु आश्चर्यको विषय छ । यस प्रश्नको जवाफ राष्ट्र बैंकले दिन जरुरी भएजस्तो देखिन्छ ।’

सुझावित समाचार