सिसिक्यामेरा बन्द गरेर तीन हजार लिटरभन्दा बढी डिजेल अनियमितता

सोमबार, २७ जेठ, २०८२
डिजिटल संस्करण
सिसिक्यामेरा बन्द गरेर तीन हजार लिटरभन्दा बढी डिजेल अनियमितता

चित्तरञ्जन दास

नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दाससहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हजारभन्दा लिटर बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

व्यवसायीसँगको मिलेमतोमा डिपो प्रमुख दासले स्वीकृत अर्डरभन्दा बढी डिजेल ढुवानी गरेको भेटिएको छ । बढी ढुवानी गरेको डिजेलको मूल्यबराबरको रकमलाई बिगो कायम गरेर गण्डकी प्रादेशिक कार्यालय पोखराका कार्यालय प्रमुख र ट्यांकरचालकविरुद्ध मुद्दा दायर भएको हो । यो घटना दुई वर्षअगाडिको हो । कार्यालयले पेट्रोलपम्पबाट आएको डिजेलको अर्डर स्वीकृत गरेको थियो । कार्यालयले पश्चिमाञ्चल ट्रेडर्सले गरेको १२ हजार लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत गरेको थियो ।

ट्रेडर्सले निगमको खातामा आइपिएस गरेर पैसा जम्मा गरिदिएको थियो । निगमको खातामा रकम जम्मा भएपछि बिल–भौचर तयार गरिएको थियो । यसपछि ट्रेडर्सले पेट्रोलियम पदार्थ लिन ट्यांकर पठाएको थियो । यसपछि डिप र सिल गर्ने जिम्मेवारीमा रहेका गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटले मिलेमतो गरे । यसमा २५ साउन ०८० को इन्भोइस नम्बरअनुसार डिजेल पश्चिमाञ्चल ट्रेडर्सको ‘ग.२ख ८३६’ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल लोड गर्नुपर्ने थियो । तर, मिलेमतोमा १५ हजार ३८ लिटर लोड गरियो ।

डिजेल लोड गरेर सिल लगाई ट्यांकर डिपोबाहिर निस्किएको थियो । यसरी स्वीकृत अर्डरभन्दा बढी डिजेल बोकेर हिँडेको ट्यांकरलाई पोखरा महानगरपालिका– २७ डाँडाको नाकामा नियन्त्रणमा लिइएको थियो । ट्यांकर चेकजाँच गर्दा १५ हजार ३८ लिटर डिजेल देखिएको थियो । बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजल देखिएको थियो । उक्त दिनको प्रतिलिटर डिजेलको मूल्य १४७.६३ थियो । यसअनुसार बढी लोड भएको परिमाणबराबरको डिजेलको मूल्य चार लाख ४८ हजार ५२५ रुपैयाँ हुन आउँछ । 

यसरी स्वीकृत अर्डरभन्दा बढी डिजेल दिएर सार्वजनिक निकाय नेपाल आयल निगमको सम्पत्तिको हिनामिना, हानि–नोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएको अख्तियारको आरोप छ । यस्तो कार्यमा संलग्नविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको आरोपमा अख्तियारले निगमको गण्डकी कार्यालयका डिपो प्रमुख चित्तरञ्जन दासलाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको छ । 

सुझावित समाचार