संसद्को अवरोध हटाउन सभामुखको सक्रियता, तीन दलका प्रमुख सचेतकसँग छलफल

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सभामुखले सिंहदरबारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

सभामुखले राजनीतिक दलहरूबिच सहमतिका लागि पटक–पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यावहारिक पक्षको ख्याल गर्न आग्रह गरे ।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।

सत्तारूढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दाेहाेर्याएका थिए ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएपछि सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै त्यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । 

सुझावित समाचार