मन्त्रालयसरह बजेट दिन मनमोहन प्राविधिक विश्वविद्यालयको माग

बुधबार, २२ जेठ, २०८२
डिजिटल संस्करण

मनमोहन प्राविधिक विश्वविद्यालयले बजेट बढाएर विनियोजन गर्न कोशी प्रदेश सरकारसँग माग गरेको छ। आपेक्षाअनुसारको बजेट नपाउँदा उद्देश्यअनुसार शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न ढिलाइ हुँदा लक्ष्य पूरा गर्न बाधा पुगेको भन्दै प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि मन्त्रालयसरह बजेट विनियोजन गर्न माग गरेको हो।

कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन टेक्नोलोजी युनिभर्सिटी (एमटुयू)ले’ १० वर्षभित्र दक्षिण एसियामा चिनिने लक्ष्य लिएको छ। तर, आपेक्षाअनुसारको बजेट विनियोजन नहुँदा योजनाअनुसारका शैक्षिक कार्यक्रमहरू सञ्चालन नहुँदा लक्ष्य प्राप्तिमा बाधा पुगिरहेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले बताए। स्थापनादेखि नै भ्यागुतोजस्तै उफ्रेर १० वर्षे रणनीति सफल बनाउने लक्ष्य लिएको एमटियू बजेटको सीमितताले सर्पजस्तै घस्रिएर शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिहेको उपकुलपति पोखरेलको भनाइ छ।

एमटियूले हाल सिभिल र इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र फार्मेसीमा स्नातक तहको बिबिए एलएलएलबी स्नातकोत्तर तहको एलएलएम तथा हस्पिटल एन्ड हेल्थकेयर म्यानेजमेन्ट विषयको पढाइ गरिरहेको छ। यसबाहेक स्नातक तहको बायोमेडिकल इन्जिनियरिङ, प्राकृतिक चिकित्सा एन्ड योगिक साइन्स, रेल्वे इन्जिनियरिङ र टनेल इन्जिनियरिङ तथा प्राकृतिक चिकित्सा विषयको कोर्स सञ्चालन गर्ने तयारी पनि गरिसकेकाे छ। तर, स्थापना भएको पाँच वर्ष बित्न लाग्दा पनि मनमोहनले अझै आफ्नो अस्पताल पाएको छैन। जसले गर्दा पाठ्यक्रम तयार गरेर पनि बिएससी नर्सिङ, अप्टोमेसी, रेडियोलोजी, ल्याब प्राविधिक (बिएमएलटी) रेडियोलोजी, फिजिकल थेरापी र एमबिबिएस र एमडीका कक्षाहरू सञ्चालन गर्न सकिरहेको छैन।

मनमोहन प्राविधिक विश्वविद्यालयका लागि आपेक्षाअनुसार बजेट प्राप्त नहुँदा समस्या र चुनौतीहरू झन् कडा बनेर जाँदै छन्। बजेट अभावले गर्दा विश्वविद्यालयको स्थायी र दीर्घकालीन योजना कार्यान्वयन गराउन कठिन भैरहेको छ। अपेक्षाअनुसार योग्य र अनुभवी शिक्षकहरू थप नियुक्त गर्न, अनुसन्धान र विकासका लागि आवश्यक साधन र संशाधनको प्रयोग गर्न नपाउँदा विश्वविद्यालय चाहेजसरी प्रतिस्पर्धात्मक रूपमा पनि अगाडि बढ्न नसकेको रजिस्ट्रार डा. दिलनाथ फुँयाल बताउँछन्।

बजेट अभावमा पनि स्थापनाकालदेखि अहिलेसम्म एमटियूको भौतिक पूर्वाधार र शैक्षिक कार्यक्रमको अवस्थाको प्रगति सन्तोषजनक देखिन्छ। तर, यतिले मात्र एमटियूले लिएको लक्ष्य पूरा गर्न सक्दैन। तयार पारिएको रणनीतिक प्रतिवेदनअनुसार आगामी मिसन २०८५ का लागि मनमोहनले थप १८ वटा पाठ्यक्रम निर्माण गर्नुपर्नेछ। पाठ्यक्रम निर्माणपछि ५ वटा विषयमा पिएचडी, १० वटा मास्टर्स र १२ वटा थप ब्याचलर तहका कक्षा सञ्चालन हुनेछन्। विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउन वाटर, जडीबुटी, मेडिसिन, एनिमल टेस्टिङदेखि फरेन्सिक, प्याथोलोजी, जेनेटिक्स, नेचुरोपेथी, बायोमेडिकल, हाइभोल्टेज कन्ट्रोल, सुपर कम्प्युटर, हेमाटोलोजी, फिजियोथेरापी इक्योलोजीलगायत थप १८ वटा ल्याबहरू स्थापना गर्नुपर्ने हुन्छ।

‘मिसन २०८५’अन्तर्गत १८ कार्यभार पूरा गर्न एमटियूलाई २० अर्ब रुपैयाँभन्दा बढी बजेट लाग्ने अनुमान छ। विश्वविद्यालयको लेखा शाखाका अनुसार एमटियूलाई कोशी सरकारले मुस्किलले ३० करोडसम्म बजेट दिँदै आएको छ।

सुझावित समाचार