भारतमा एकै परिवारका तीन नेपालीकाे मोटरसाइकल दुर्घटनामा परी मृत्यु

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

बाराको पचरौता नगरपालिका– १, पिपरपातीका एकै परिवारका तीनजनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । भारतको रक्सौलबाट फर्किँदै गर्दा छौडादानोको बखरी गाउँनजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाको नाबालकसहित एकै परिवारका तीनजनाको ज्यान गएको बताइएको छ । घटना सोमबार भएको जनाइएको छ । 

मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । उनको हाल भारतको मोतीहारीस्थित अस्पतालमा उपचार भइरहेको छ । धर्मराजको शरीरको विभिन्न भागमा गम्भीर चोट रहेको र हातखुट्टा भाँचिएको बताइएको छ । 

धर्मराज साह आफ्नो पाँच महिनाको छोराको उपचारका लागि पत्नी र आमासहित रक्सौल गएका थिए । उपचारपछि घर फर्किँदै गर्दा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन् । 

मंगलबार मृतकहरूको  शव गाउँमा ल्याएर अन्त्येष्टि गरिएको छ । धर्मराजको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा पनि समस्या देखिएको छ । घटनापछि पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले धर्मराजको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। ‘यो दुर्घटना अत्यन्त दुःखद र हृदयविदारक छ । पीडित परिवारलाई तत्काल राहत पुग्ने गरी पालिकाबाट सहयोग उपलब्ध गराउनेछु,’ नगर प्रमुख सिंहले भने ।
 

सुझावित समाचार