नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ। एमालेले सात दशक लामो बलिदानपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन लागेको हो।
उक्त पार्टीले आज बिहान ११ बजेदेखि २ बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ताकाे सांस्कृतिक झाँकीसहितकाे र्याली भृकुटीमण्डपमा पुगेर उत्सवमा सहभागी हुनेछ। यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी हुने प्रचार विभाग प्रमुख गौतमले बताए।