दुग्ध विकास संस्थानको वितरण केन्द्र सार्न स्थानीयको अवरोध

कार्यालय प्रमुख निरञ्जन भट्टराईलाई प्रवेश रोक, प्रशासनिक काम प्रभावित

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थानको दुग्ध वितरण आयोजनाको कार्यालय धनगढी सारिने भएको छ । संस्थानले धनगढी उपमहानगरपालिका– १५, कनरीमा कार्यालय सार्ने तयारी गरेपछि अत्तरियावासी आन्दोलनमा उत्रिएका छन् । कार्यालय सार्न नहुने माग गर्दै स्थानीयले दुग्ध वितरण आयोजना कार्यालय अत्तरियामा तालाबन्दी गरेका छन् । कार्यालय प्रमुख र प्रशासन कक्षमा गत ८ जेठमा स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयको आन्दोलनका कारण कार्यालय प्रमुख निरञ्जन भट्टराई गत आइतबारबाट कार्यालय जान सकेका छैनन् ।

तालाबन्दीका कारण प्रशासनिक काम प्रभावित भएका उनले बताए । दुध संकलन र वितरण भने रोकिएको छैन । ‘अहिले भाडामा रहेको कार्यालयमा सेवा विस्तार गर्न समस्या छ । सामान राख्न पनि गाह्रो हुन थाल्यो । भाडामा रहेको ठाउँमा संस्थानले स्थायी संरचना निर्माण गर्ने अवस्था नभएपछि दुग्ध विकास संस्थानले धनगढी सार्ने निर्णय गरेको हो,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘तर, स्थानीयको अवरोधले कार्यालय सार्न सकिएको छैन ।’

स्थानीयले कार्यालय प्रवेशमा रोक लगाएका कारण गत आइतबारबाट आफू कार्यालय जान नसकेको भट्टराईले बताए । अत्तरियाको दुग्ध विकास आयोजना कार्यालय सार्न धनगढी उपमहानगरले कनरीमा आफ्नो स्वामित्वमा रहेको एक बिघा तीन कट्ठा जग्गा र त्यसमा बनेको भवन संस्थानलाई २५ वर्षका लागि लिजमा दिएको छ । कनरीमा दुग्ध प्रशोधन उपकरणसहित कार्यालय सार्ने निर्णय संस्थानले गरेको छ । अत्तरियाका स्थानीयले भने कार्यालय अत्तरियाबाट सार्न नहुने भन्दै निरन्तर दबाब दिँदै आएका छन् । 

सुझावित समाचार