सिराहा नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको विषयमा समाचार लेखेपछि सिराहाका मेयर डा. नवीनकुमार यादवले पत्रकारहरूलाई धम्की दिएका छन्।
मेयर यादवले आफ्नो समाजिक संजाल फेसबुकमार्फत मंगलबार एक भिडियो सन्देश जारी गर्दै समाचार लेख्ने पत्रकारले ‘भयानक परिणाम’ भोग्नुपर्ने भन्दै चेतावनी दिएका हुन्।
अख्तियारको बर्दिबास कार्यालयको टोलीले सोमबार बिहान नगरपालिकामा छापा हानेको थियो। अख्तियारको दुईजनाको टोलीले सिराहा नगरपालिकामा राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात नियन्त्रणमा लिएको थियो।
अख्तियार बर्दिबास कार्यालयका सूचना अधिकारी तुलसीराम पौडेलले छापा हानेर कागजात नियन्त्रणमा लिएको पुष्टि गरेपछि जिल्लाका सञ्चारकर्मीले समाचार लेखेका थिए। तर, अनर्गल प्रचारबाजी गरेको भन्दै मेयर यादवले पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएका हुन्।
‘मेरो पालिकाविरुद्ध कसैले लेख्छ भने मलाई यसबाट डर छैन, पत्रकारहरू डराउनुपर्छ,’ उनले भिडियोमा भनेका छन्, ‘पत्रकारहरूलाई भारी पर्छ, यसको परिणाम भयानक हुन्छ।’ यसरी आफूविरुद्ध लेखिरहे पत्रकारलाई दण्ड र जरिवाना गराउने मेयर डा. यादवले चेतावनी दिएका छन्। ‘म चेतावनी दिन चाहन्छु– मेरो कार्यकालमा मेरो पालिकाविरुद्ध जथाभावी नलेख्नुस्,’ उनले भनेका छन्, ‘यस्तो गर्नेलाई भारी जरिवाना र दण्ड दिलाउने गरी मअगाडि बढ्नुपर्ने हुन्छ।’
मेयर यादवको उक्त अभिव्यक्तिप्रति सिराहाका सञ्चारकर्मीहरूले विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघ, सिराहाका अध्यक्ष मनोज बनैताले मेयरको गैरजिम्मेवार र धम्कीपूर्ण चेतावनी आपत्तिजनक रहेको बताए।
यता अख्तियारको टोली आज मंगलबार पनि सिराहा नगरपालिकाविरुद्ध परेको उजुरीको आधारमा छानबिन गर्न आएको थियो।