विपतबाट जोगिने उपायको खोजीमा सिन्धुपाल्चोक

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

यो सालको बर्खामा सधैँभन्दा तापक्रम बढ्ने र बर्सात् पनि अधिक हुने मौसमविद्को पूर्वानुमान छ। यो भनाइलाई आधार मान्दा मनसुनजन्य विपत्  र जोखिम गत वर्षभन्दा ज्यादा हुन सक्ने अनुमान गर्न सकिन्छ। सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको जिल्ला हो। जुरे पहिरो, मेलम्ची, भोटेकोशी बाढी र अन्य पहिरोका घटनाले यो जिल्ला विपतको जोखिममा रहेको प्रमाणित गर्छ । भूगर्भविद्को अध्ययनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्लाको दुई दर्जन बस्ती उच्च जोखिममा रहेको सूची सार्वजनिक गरेको थियो । 

चीनसँगको सिमाना जोडिएको भोटेकोशी गाउँपालिकाभित्रका सबैजसो बस्ती बाढीपहिरोको उच्च जोखिममा छन्। बाह्रबिसे नगरपालिका, हेलम्बु, जुगल र पाँचपोखरी थाङपाल गाउँपालिका पनि मनसुनजन्य विपतको जोखिममा रहेका छन्। विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी किरण थापाले मनसुनजन्य विपत्तिबाट बच्ने उपायको खोजी गरिएको बताए। स्थानीय सरकार प्रमुख, सुरक्षा निकाय र विपतमा काम गर्ने विभिन्न कल्स्टरसँग छलफल जारी रहेको उनले सुनाए। ‘सबै पक्षसँग छलफल गरेर विपतबाट जोगिने उपायबारे एउटा मस्यौदा तयार गरिएको छ,’ उनले भने, ‘अझै व्यापक छलफल गरेर उपायहरूको खोजी गरिनेछ।’ 

खाद्यान्न, हेलिकाेप्टर, डुंगा, विभिन्न उपकरण र जनशक्तिको अवस्थाबारे नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसँग डाटा संकलन, छलफल र तयारी जारी रहेको उनले प्रस्ट्याए। नेपाली सेनाले सिन्धुपाल्चोक र काभ्रेलाई मध्यनजर गरेर दोलालघाट क्षेत्रमा विपतबाट जोगिने, उद्धार गर्ने र आवश्यक उपकरण प्रयोग विधिबारे डेमोको अभ्यास जारी राखेको छ । त्यसैगरी सशस्त्र प्रहरीले पनि विपत् पूर्वतयारी प्रशिक्षण र अभ्यास गरिरहेको प्रजिअ थापाले जानकारी दिए।

मेलम्ची खोलाको बाढीले ध्वस्त भएर बिस्तारै तंग्रिएको हेलम्बुमा स्थानीय सरकारले मेलम्ची, गोरे र तार्केखोलामा ढुंगाको बार लगाउने अभियान नै सञ्चालन गरेको छ। खोलामा भएका ठुलाठुला ढुंगालाई एक्स्काभेटरको प्रयोग गरेर किनारमा बार लगाउने अभियान चलाएको हो। ‘नदीमा रहेका ठुला ढुंगा झिकेर पाखा लगाउँदा बाढीको वहाब बस्तीमा आउँदैन,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकोले भने, ‘नदी किनारमा रहेका बस्ती र खेत जोगाउन ठुला ढुंगाले नदी किनारमा बार लगाएको हो ।’

ग्याल्थुम, ढुंग्रेबजार, तिम्बु, हल्दे र चिउरीखर्कआसपास ढुंगा थुपारेर बाढी रोक्ने योजना कार्यान्वयन भइरहेको उनले सुनाए । विपतकाे वेला फोन सेवा नियमित राख्न नेपाल टेलिकमको टावरमा विद्युतीय ब्याकअप उपकरणको जोहो गरिएको उनले बताए। यता जुगल गाउँपालिकामा जनप्रतिनिधिको टिमले जोखिमयुक्त बस्तीमा पुगेर मनसुनको अवस्था र जोगिने उपायबारे सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। त्रिपाल, भाँडाकुँडा, आर्थिक कोष र उद्धार टोली तयारी अवस्थामा राखेको अध्यक्ष रेशम स्याङ्बोले जनाए।

सामान्य वर्षा हुँदा मंगलबार बिहान गएको पहिरोले भोटेकोशी– ४ खोकुण्डोल सडकमा पार्किङ गरेका दुईवटा बोलेरो गाडीलाई पूर्ण क्षति गरेको र तीनवटा घरमा सामान्य क्षति पुर्याएको छ। भोटेकोशी, सुनकोशी, इन्द्रावती, मेलम्ची र ब्रह्मायणी नदी किनारका बस्ती बाढीको उच्च जोखिममा छन्। ०७२ को भूकम्पपछि धेरैवटा बस्तीमा पहिरो लागेको छ। कोदारी राजमार्ग २६ किलोमिटर, बनदेउ–बाह्रबिसे, बलेफी–कात्तिके, मेलम्ची–भोताङ र मेलम्ची–हेलम्बु सडक किनार त्यत्तिकै जोखिमपूर्ण छन्। 

See More On

सुझावित समाचार