ग्लोबल आइएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ग्राहकलाई हवाई यात्रा गर्दा विभिन्न सेवा–सुविधा दिन ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सिइओ सुवास सापकोटाले संयुक्त रूपमा उक्त कार्डको अनावरण गरेका हुन् ।
ग्लोबल स्काई क्लब कार्डवाहकले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउनेछन् ।
त्यस्तै, यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याकस्वरूप निःशुल्क टिकट पाइने बैंकले जनाएको छ । त्यसैगरी, क्लब कार्ड लिँदा सय प्वाइन्ट बोनस पनि प्राप्त हुने र उक्त बोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाका लागि प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै, चेक–इन र बोर्डिङमा निर्धारित तौलभन्दा थप पाँच केजी लैजाने सुविधा पनि ग्राहकले पाउनेछन् ।