अध्यागमनको सेटिङमा ‘कोर टिम’

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

राम्रो आम्दानी हुने भएपछि गृह मन्त्रालयबाट विमानस्थल अध्यागमनमा जान कर्मचारीहरूको तँछाडमछाड चल्ने गरेकामा मन्त्रालयकै नेतृत्वको सिफारिसमा केही निश्चित व्यक्तिलाई दोहोर्याई, तेहेर्याई पठाउने गरिएको छ । स्रोतका अनुसार मानव तस्करी सेटिङका लागि अध्यागमनमा ‘कोर टिम’ तयार गर्न मन्त्रालय नेतृत्वले नै प्रोत्साहन गर्ने गरेको हो । जबकि बुधबार गृहमन्त्री रमेश लेखकले कर्मचारीमार्फत विज्ञप्ति जारी गर्न लगाएर अध्यागमन सेटिङमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । 

अधिकृतहरूका अनुसार अध्यागमन प्रशासनमा राइँदाइँ गर्नेहरूको अलग्गै ‘कोर टिम’ छ । यो समूहका अधिकृतहरू पालैपालो एकपछि अर्को अध्यागमन पुग्छन् । यो समूहका अधिकृतहरू अध्यागमन जाने र केही समय मन्त्रालयमा बसेर पुनः अध्यागमनमै पुग्छन् । यही समूहमा पर्छन् गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत अधिकृत विमल पौडेल पनि । उनीविरुद्ध प्रहरीले ०८० माघमा मुद्दा चलाएको थियो ।

उनले अदालतबाट सफाइ पाएपछि मन्त्रालयमा मन्त्री लेखकको सचिवालयमा छिरेका थिए । हाल कार्यरत दर्जनौँ अधिकृतहरू नै दुईपटकदेखि चारपटकसम्म फर्की–फर्की अध्यागमन पुगेका छन् । यही समूहले अध्यागमनको सेटिङ व्यवस्थापन गर्छ । ‘मन्त्रालय र विभागले अध्यागमनको बेथितिमा आँखा चिम्लिएको मात्र छैन, प्रोत्साहन गरेर लाभसमेत लिएको छ,’ स्रोत भन्छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेर हाजिरी जमानीमा राखी अनुसन्धान गरिरहेको छ। प्रारम्भिक छानबिनमा भिजिट भिसाको सेटिङ संस्थागत र संगठित देखिएको छ । सोही कारण गृहमन्त्री रमेश लेखकमाथि समेत राजीनामाको दबाब बढेको छ। 

सुझावित समाचार