प्रदर्शनमा रास्वपालाई सहभागी गराउने पूर्वराजावादीको प्रयास असफल

बिहिबार, ८ जेठ, २०८२
डिजिटल संस्करण
प्रदर्शनमा रास्वपालाई सहभागी गराउने पूर्वराजावादीको प्रयास असफल

मनीष झा, कार्यवाहक प्रवक्ता, रास्वपा

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रयास असफल भएको छ ।

आन्दोलनमा सहभागी हुन सुवेदीले पठाएको पत्रको जवाफ दिनसमेत आवश्यक नठानिएको रास्वपाले प्रतिक्रिया दिएको छ । राजावादीले १५ चैत्रमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि उनीहरूको आन्दोलनमाथि प्रश्न छन् ।

सुवेदीले मंगलबारको मितिमा पठाएको पत्र रास्वपा कार्यालयमा बुधबार दर्ता भएको थियो । दर्ता नम्बर १०६ रहेको उक्त पत्र रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गरेर पठाइएको छ । हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा सभापति रवि लामिछानेले शंका गरेको सन्दर्भ उल्लेख गर्दै सुवेदीले पत्रमा १५ जेठदेखि आयोजना हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । 

पार्टी कार्यबाहक प्रवक्ता मनीष झाले पत्रको जवाफ दिनसमेत आवश्यक नठानिएको अवस्थामा आन्दोलनमा सहभागी हुने भन्ने त प्रश्नै नरहने बताए । ‘उहाँहरूले पठाउनुभएको पत्र पायौँ र पार्टी कार्यालयमा दर्ता पनि भयो । हामी उहाँहरूसँग राजनीतिक रूपमा समान सैद्धान्तिक धरातलमा छैनौँ । त्यसकारण यसबारे उहाँहरूलाई औपचारिक रूपमा जवाफ दिनुपर्छ भन्ने पनि छैन । जवाफ दिन त आवश्यक ठान्दैनौँ भने आन्दोलनमा सहभागी हुने भन्ने त प्रश्नै हुँदैन,’ उनले नयाँ पत्रिकासँग भने । 

राजावादी समूहहरू मिलेर गठन गरेको समितिको आह्वानमा १५ जेठदेखि राजधानीकेन्द्रित आन्दोलनको तयारी छ । समितिमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति पार्टी तथा राजसंस्था पक्षधर विभिन्न समूह छन् । उनीहरूले आन्दोलनमा शक्ति प्रदर्शन गर्ने प्रयास गरेका छन् । 

सुझावित समाचार