डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि ‘मेसवायर जाली’ राख्ने कार्य सुरु गरेको छ । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काम सुरु गरिएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार माडी नगरपालिकाका ६ वटा सामुदायिक वनमा मानव–वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि घेराबारा (मेसवायर जाली) राख्न लागिएको हो । दुई हजार आठ सय मिटर क्षेत्रफलमा यो जाली राखिनेछ । मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि हामीले मध्यवर्ती क्षेत्रमा पहिलोपटक काम थालेका छौँ । प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको एक करोड १५ लाखको लागतमा जाली राख्ने काम सुरु गरिएको हो।
सूचना अधिकारी पौडेलले भने, ‘भूक्षय नियन्त्रणसहितको काम भइरहेको छ । वन्यजन्तु बस्तीमा पसेर धनजनको क्षति न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ। वन्यजन्तु बस्तीमा बढी मात्रामा प्रवेश गर्ने मध्यवर्ती सामुदायिक वनमा जाली राखेर बस्ती पस्नबाट रोक्न लागिएको हो । जाली राखेसँगै वन्यजन्तु सहज रूपमा बस्ती पस्न सक्दैनन् । माडी क्षेत्रमा वन्यजन्तुले अन्नबाली, घरटहरामा क्षति पुर्याउँदै आएका छन् । यसका कारण यस क्षेत्रमा बढी मात्रामा मानव–वन्यजन्तुबिचको द्वन्द्व रहँदै आएको छ ।’ यसको न्यूनीकरणका लागि प्रदेश सरकारले काम गरेको उनले बताए ।