बंगलादेशमा शेख हसिनाको पार्टी निर्वाचनमा प्रतिबन्धित

मंगलबार, ३० बैशाख, २०८२
डिजिटल संस्करण

बंगलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहनेछ ।

अवामी लिग बंगलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।

७७ वर्षीया हसिना भारतमा स्वनिर्वासनमा छिन्  ।

बंगलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए।

८४ वर्षीय युनुसले डिसेम्बरको सुरुमा र पछिल्लो समय जुन २०२६ सम्ममा संसदीय चुनाव हुने बताएका छन् ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आफ्नो कारबाही सम्पन्न नगरेसम्म पार्टी र यसका सम्बद्धहरूलाई र्याली र सम्मेलनसहित कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गर्ने निर्देशन पनि जारी गरेको छ ।

बंगलादेशमा चुनावमा भाग लिनलगायत राजनीतिक गतिविधिहरूमा संलग्न हुन राजनीतिक दलहरू निर्वाचन आयोगसँग दर्ता हुनुपर्छ ।

सुझावित समाचार