उपत्यका प्राधिकरणका सबइन्जिनियरविरुद्व तीन कराेड ६३ लाख अकुत सम्पत्ति आर्जनको अभियाेग

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण

उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरमा कार्यरत सबइन्जिनियर कुमार पौड्यालविरुद्ध साढे तीन करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । पौड्यालले पदीय मर्यादाविपरीत कार्यहरू गरी तीन करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको  आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

पौड्यालले ०५१ वैशाख ९ गतेदेखि ०८० असार ३१ गतेसम्मको अवधिमा सोबराबर रकम भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।  यस अवधिमा पौड्यालको वैध आय दुई करोड ५८ लाख ९७ हजार रुपैयाँ मात्र रहेकोमा उक्त अवधिमा घर निर्माण खर्च, जग्गा खरिद,अध्ययन खर्च, पिस बेंक्वाेट एन्ड रेस्टुरेन्ट प्रालिमा लगानी, सवारीसाधन खरिद, सेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, बिमा प्रिमियम भुक्तानी र बैंक मौज्दात रकम गरी जम्मा कुल ६ करोड २२ लाख १८ हजार रुपैयाँ उनको जम्मा सम्पत्ति भेटिएको हो । 

तीन करोड ६३ लाख रुपैयाँ ऋणात्मक रही गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले पौड्याललाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम सजायको माग दाबी अख्तियारले गरेको छ । 

पौड्यालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती विष्णुमैया पौड्यालको नाममा पनि राखेको भेटिएकाले विष्णुमैयालाई पनि सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ ।

सुझावित समाचार