राष्ट्र बैंकको गभर्नर कांग्रेसलाई दिन प्रधानमन्त्री तयार : देउवा

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको देउवाको भनाइ

बुधबार, २४ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकको गभर्नर पद कांग्रेसलाई दिन प्रधानमन्त्री केपी ओली तयार भएको प्रमुख सत्तासाझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले खुलासा गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा सत्ता गठबन्धमा कुनै समस्या नभएको दाबी गर्दै उनले गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारे । 

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उनको भनाइ थियो । ‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठुलो छ, तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनै पनि समस्या क्रिएट गर्नुभएको नि छैन,’ सभापति देउवाले भने, ‘गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्याचाहिँ होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’ यसअघि ओली–देउवाको भेटघाटमा प्रधानमन्त्री ओलीले बिहीबारसम्ममा गभर्नर नियुक्त गरिसक्ने प्रतिबद्धता जनाइसकेका छन् । केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने चर्चा चलेसँगै उनको राजीनामा स्वीकृत हुन सकेको छैन । कायममुकाय गभर्नर डा. नीलम ढुंगाना तिम्सिना स्वयं गभर्नरको दाबेदार भएकाले उनी भट्टको राजीनामा स्वीकृत नगर्ने पक्षमा छिन् ।  

गभर्नरमा रबर स्ट्याम्प नियुक्तिको जोखिम : डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सेटिङमा रबर स्ट्याम्प व्यक्तिलाई गभर्नर नियुक्त गर्न लागेको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले माथि सेटिङ गरेर रबर स्ट्याम्प गभर्नर नियुक्ति हुने आरोप लगाएका हुन् । ‘दुई महिनादेखि सानो एउटा राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति अल्झिराखेको छ । माथि सेटिङ गरेर अनि समिति (सिफारिस समिति) बसाएर एउटा रबर स्ट्याम्पको नियुक्ति हुने होला, त्यसमा पनि गिजोलिराख्या छ ।’

See More On

सुझावित समाचार