औद्योगिक पार्कमा अवैध मकैखेती प्रकरण : खेती गर्ने व्यक्ति खोज्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड

बुधबार, २४ बैशाख, २०८२
डिजिटल संस्करण

झापामा निर्माण हुने भनिएको नेपाल–चीनमैत्री औद्योगिक पार्कको जग्गा करिब तीन सय बिघा जग्गामा भारतीय नागरिकलाई अवैध रूपमा मकैखेती गर्ने ठेक्का दिने मुख्य व्यक्तिको खोजी सुरु भएको छ । दमक नगरपालिका– १० गौरादह नगरपालिका– ५ र कमल गाउँपालिका– ७ को रतुवा नदी बगरनजिक रहेको औद्योगिक क्षेत्रको जग्गामध्ये गौरादह र कमल क्षेत्रको तीन सय बिघा जग्गामा भारतीयलाई कसले मकैखेती लगाउन दिएकोे भन्नेबारे खोजी सुरु भएको हो । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल–चीनमैत्री औद्योगिक पार्कका लागि अधिग्रहण गरिएको जग्गामा पुगेर स्थलगत अनुगमन गरेको छ । मंगलबार लिमिटेडका महाप्रबन्धक पदम ओलीसहितको टिम पुगेर अध्ययन गरेको हो । नयाँ पत्रिका दैनिकले १८ वैशाखमा ‘झापा औद्योगिक पार्कको तीन सय बिघामा भारतीयले गरे अवैध रूपमा मकैखेती, स्थानीय प्रशासन बेखबर’ शीर्षक समाचार प्रकाशनपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चासो देखाएको हो । 

१६ फागुन ०७७ मा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको औद्योगिक पार्क निर्माणको काम अलपत्र हुँदा खाली रहेको जग्गामध्ये करिब तीन सय बिघा जग्गामा अनधिकृत रूपमा मकैखेती भइरहेको हो । सरकारले त्यस क्षेत्रमा जग्गा अधिग्रहण गर्दा करिब एक अर्ब २२ करोड खर्च गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । यतिका धेरै लगानी गरेर चार वर्षअघि शिलान्यास गरिएको पार्क अलपत्र छाडिँदा अतिक्रमणको खतरा बढेको हो । महाप्रबन्धक ओलीसहितको अनुगमनका क्रममा त्यहाँ खेती गर्दै आएका केही भारतीय युवा भेटिएका थिए । साहुले ठेक्कामा दिएर खेती गरेको उनीहरूले बताएका छन् । तर, साहु को भन्नेबारे केही खुलाएनन् ।

अनुगमनमा गएका महाप्रबन्धक ओलीलाई औद्योगिक पार्क प्रभावितले यतिका धेरै जग्गामा मकैखेती लगाउने ठेक्का दिने मुख्य मान्छे खोज्न सुझाव दिए । ‘यो माथिदेखिकै सेटिङमा भएको हो । अरूले दिएर खेती गर्ने सामान्य भारतीय किसानलाई दोष दिएर हुँदैन मुख्य मान्छे खोज्नुपर्छ,’ गौरादह– ५ का चन्द्र बास्तोलाले भने, ‘यहाँ सबैले बिजुलीको मिटर जोडेको सुन्नमा आएको छ । हामी मिटर लिन जाँदा अनेक झमेला दिन्छन् । तर, भारतीय नागरिकले सरकारी जग्गामा खेती गर्दा कसरी मिटर पाए ? माथिबाट सेटिङ नभई यो सम्भव हुँदैन ।’

मकैखेती लगाउने दिने व्यक्तिको पहुँच राजनीतिक रूपमा जोडिने भएकाले मुख्य व्यक्ति पत्ता लाग्न नसक्ने कमल गाउँपालिका– ७ का अनुरोध पौडेलले बताए । 

See More On

सुझावित समाचार