यू १६ विद्यालयस्तरीय पुरुष टी–२० क्रिकेट सुरु

हिमालयनको विजयी सुरुवात

मंगलबार, २३ बैशाख, २०८२
डिजिटल संस्करण

हिमालयन बोर्डिङले कास्की जिल्लास्तरीय यू –१६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि सुरु प्रतियोगितामा कुमुदिनी होम्सलाई ९ विकेटले पराजित गर्दै हिमालयनले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।

राउन्ड रोबिनका आधारमा सञ्चालन गरिएको प्रतियोगिताको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरेका थिए। खेलमा टस जितेर ब्याटिङ रोजेको कुमुदिनीले २० ओभर खेल्दै ८ विकेट गुमाएर ६५ रन जोडेको थियो। ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको हिमालयनले ७.१ ओभरमा एक विकेट गुमाएर ६९ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो।

कुमुदिनीका लागि मिजास पोखरेलले २० बलमा २० रन जोडेका थिए। प्लेयर अफ द म्याचसमेत रहेका हिमालयनका सफल सुगम थापाले नटआउट रहँदै २० बलमा ४४ रन बनाएका थिए। आयुष पनेरू नटआउट रहँदै १९ बलमा १४ रन बनाएका थिए।

हिमालयनका सुदर्शन कोइरालाले ४ ओभर खेल्दै १० रन खर्चेर ४ विकेट हात पारेका थिए। प्रतियोगिताबाट जिल्लास्तरीय टोली बनाइने भएको छ। टोलीले जेठमा हुने प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

सन् २०२५ मा एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने एसिसी मेन्स यू १६ इस्टजोन कप २०२५ को सहभागिताका लागि नेपाली राष्ट्रिय टोली छनोटका लागि प्रतियोगिता आयोजना गरिएको हो। छनोट भएका खेलाडी जिल्ला, प्रदेश र राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनेछन्।
 

सुझावित समाचार