संकटाको जितमा ममताको पाँच गोल

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

ममता पुन मगरको पाँच गोल प्रेरित संकटा फुटबल क्लब सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार मकवानपुरको हेटौँडामा संकटाले बाराको नवजनजागृति क्लबलाई ६–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । संकटा लगातार दोस्रो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि नुवाकोटमा भएको बागमती गोल्डकपमा सेमिफाइनल खेलेको थियो । तर, फाइनल पुग्न खेलेको संकटालाई विभागीय टोली नेपाल पुलिस क्लबले पराजित गरेको थियो ।

हेटौँडा– ६ स्थित गौरीटार रंगशालामा संकटालाई जिताउन ममताले पाँच गोल गर्दा जेनिफर रानाले थप एक गोल गरेकी हुन् । नवजनजागृतिका लागि रोजिना लामाले एक गोल फर्काइन् । नवजनजागृतिविरुद्ध संकटाले खेलको नौ मिनेटमै अग्रता बनायो । ममताले अग्रता बनाइन् । त्यस्तै, जेनिफरले १३औँ मिनेटमा अग्रता दोब्बर बनाइन् । त्यसपछि ममताले खेलको २१, ३५, ६७ र इन्जुरी समयमा गोल गरिन् । यता, नवजनजागृतिका लागि रोजिना लामाले ७९ औं मिनेटमा एक गोल फर्काएकी हुन् । खेलमा ५ गोल गरेकी संकटाकी ममता नै प्लेयर अफ द म्याच घोषित हुँदा १० हजार प्राप्त गरिन् । 

पुलिस र रौतहट खेल्दै 
प्रतियोगितामा आइतबार नेपाल पुलिस क्लब र रौतहट जिल्ला महिला टिमबिचमा खेल हुनेछ । पुलिस शनिबार नै बागमती गोल्डकपमा उपविजेता भएको थियो । फाइनलको सात मिनेटको इन्जुरी समयमा अनिता केसीले गोल गरेपछि एपिएफले लगातार पुलिसलाई उपाधि भिडन्तमा हराएको हो ।

यसअघि अन्तरालले नेपालगन्जमा आयोजना गरेको लुम्बिनी कपमा पनि एपिएफले इन्जुरी समयमै पुलिसलाई हराउँदै उपाधि उचालेको हो । यता, रौतहट बागमती गोल्डकपको सेमिफाइनलमा विभागीय एपिएफ क्लबसँग पराजित हुँदो बाहिरिएपछि यो प्रतियोगिता खेल्न लागेको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन जारी प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गर्नेछन् । 
 

सुझावित समाचार