प्रदेश खेलकुद मन्त्रालयले हेटौँडामा स्पोर्टस् अवार्ड एन्ड युथ समिट गर्ने

शुक्रबार, १९ बैशाख, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशको राजधानी हेटौँडामा स्पोर्टस् अवार्ड एन्ड युथ समिट गर्ने भएको छ । प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले कार्यक्रम यही जेठको पहिलो साता गर्ने जानकारी दिए । उनले स्पोर्टस् अवार्ड र समिट आयोजनाका लागि तीन सदस्यीय उपसमिति गठन गरेको जानकारी दिए । 

उपसिमितिको संयोजकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र सदस्यहरू  तेक्वान्दोका पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक प्रेम बहादुर भण्डारी र वरिष्ठ खेलकुद  पत्रकार प्रकाश तिमल्सिना रहेका छन् । मन्त्री महर्जनका अनुसार उक्त उपसमितिले १० दिनभित्र बागमती प्रदेशमा रहेका नयाँ तथा पुराना गरी नाैजना प्रतिभावान् खेलाडी,  खेलकुद पत्रकारितामा कलम चलाइरहेका एकजना खेलकुद पत्रकारको चयन गर्नेछ । सोहीअनुसार छनोट भएका उत्कृष्ट खेलाडी र पत्रकारलाई नगदसहित सम्मान गर्ने मन्त्री महर्जनले बताए ।

देशमा संघीयता लागू भएपछि बागमती प्रदेशमा पहिलोपटक हुन लागेको यस अवार्ड कार्यक्रमले खेल क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्ने आफूले अपेक्षा राखेको मन्त्री महर्जनको भनाइ छ । ‘खेल क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, पत्रकार र व्यवस्थापकहरूलाई समय–समयमा पुरस्कृत र सम्मान गर्नु आवश्यक छ,’ उनले भने, ‘यस्ता पुरस्कार तथा सम्मानले नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्छ भने अग्रजहरूले सम्मानित महसुस गर्न पाउँछन् ।’

यसअघि प्रदेश सरकारले ३ असोजमा ०८१ मा प्रदेशका युवा तथा खेलकुदमन्त्री महर्जनको पहलमा बागमती प्रदेश सरकारले नेपाललाई पारा ओलम्पिक गेममा कांस्य पदक दिलाउन सफल तेक्वान्दोकी पलेशा गोबर्द्धनलाई  नगद  १० लाख र १९औँ एसियन गेममा रजत पदक विजेता कराँतेकी एरिका गुरुङलाई नगद पाँच लाख रुपैयाँसहित सम्मान र हेटौँडा बजार परिक्रमा गराएको थियो ।

सुझावित समाचार